काठमाडौं – विश्वकप छनोट अन्तर्गत नेपाल र अस्ट्रेलियाबीचको खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण फागुन १८ गतेबाट सुरु हुने भएको छ ।
फिफा विश्वकप कतार–२०२२ तथा एएफसी एसियन कप–२०२३ चाइना छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले अस्ट्रेलियासँग खेल्ने कार्यतालिका रहेको छ ।
नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिवार नै ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरे पनि मोफसलका लिगहरूका कारण प्रशिक्षण फागुन १८ गतेबाट मात्र शुरु हुने एन्फाले जनाएको छ ।
विश्वकप छनोटको समूह ‘बी’ मा रहेको नेपालले सबै अवे र कुवेतसँगको होम गेम पनि खेलिसकेको छ । अहिलेसम्मको खेलमा नेपालले चाइनिज ताइपेइलाई हराउँदा अरु सबै टोलीसँग पराजय भोग्दै तालिकाको चौथो स्थानमा छ । नेपाल रहेको समूहमा अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ रहेका छन् ।