तनहुँ - कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो ।
व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका रुपमा रु चार लाख बजेट विनियोजन गरिएको छ ।
उनले भने, “यस वर्ष परीक्षणका रूपमा बेसार खेती थालेका छौँ । बिक्री–वितरण सहजै भए खेती विस्तार गर्दै लैजाने योजना छ ।” कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बीउ खरिदका साथै कृषकले बेसार राखेर उमाल्ने ड्रम, कुटानीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिनलगायत सामग्रीसमेत खरिद गरिसकेका छन् ।
समूहमा आबद्व सदस्यले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात धोइपखाली गरी उमाल्ने, कुटानीपिसानी गरेर लेबल टाँस गरी अग्र्यानिक बेसारका रूपमा बिक्री गर्नेछन् । व्यास नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्ने शर्तमा कार्यालयले यस कार्यक्रमलाई अघि बढाएको हो ।
उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा प्याक गरेर विदेश निर्यात गर्ने लक्ष्य छ । कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार (हलेदो) खेती प्रवर्द्धन कार्यलाई प्राथामिकता दिएको हो । उत्पादन भएका वस्तु स्थानीय बजारमा बिक्री भएन भने तीनवटै तहका सरकारले सहजीकरण गरी बिक्री–वितरणमा सहयोग गरेको अवस्थामा कार्यक्रम अझ प्रभावकारी हुने देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० १०:०१