बग्दाद–इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् ।
उच्च सुरक्षा व्यवस्था सहितको धेरैजसो कुटनीतिक नियोगका कार्यालयहरू रहेको ‘ग्रिन जोन’मा क्षेप्यास्त्र प्रहार लगत्तै चेतावनीयुक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै संचार माध्यमहरूले क्षेप्यास्त्र प्रहारका कारण धुँवाको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् । बिहीबार पनि के १ सैनिक अखडालाई लक्षित गरी काट्युसा क्षेप्यास्त्र प्रहार भएको थियो । किर्कुक प्रान्तमा रहेको यस सैनिक अखडामा अमेरिकी सेना रहेका छन् । तर यसबाट कुनै क्षति नभएको बताइएको छ । गत डिसेम्बर २०१९ मा के१ सैनिक अखडामा भएको अर्को क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सैनिकका लागि काम गर्ने एक व्यक्तिको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका थिए । (रासस÷सिन्ह्वा)
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ ०६:३६