गण्डकी– गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् ।
त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताए । उनका अनुसार नेपालीका लागि रु एक सय र विदेशी नागरिकका लागि रु एक हजार प्रवेश शुल्क तोकिएको छ । “विदेशी पर्यटकबाट टिकट शुल्क घटाउनुपर्ने सुझाव आएको छ, यो विषयमा नेपाल ट्रष्टको केन्द्रीय कार्यालयमा पनि जानकारी गराएका छौँ”, प्रमुख मिजारले भने, “टिकट दर संशोधन गर्ने कुरा भइरहेको छ, माथिबाट निर्णय भएर आउन बाँकी छ ।”
आन्तरिक पर्यटक भने दैनिक सरदर तीन सय ५० को सङ्ख्यामा रत्न मन्दिर पुगेको तथ्याङ्क उक्त कार्यालयसँग छ । गत शनिबार मात्रै सात सय बढीले रत्न मन्दिर घुमेका थिए ।
सोमबारबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मन्दिर खुला हुने गर्छ । टिकट कक्ष भने ४ बजे नै बन्द हुन्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्रका लागि प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघण्टा रु १० हजार शुल्क तोकिएको छ ।
पूर्वराजपरिवारको शीतकालीन दरबारका रूपमा चिनिने रत्नमन्दिर गणतन्त्रको उदयसँगै १५ वर्षदेखि बन्द अवस्थामा थियो । पर्यटकीय गन्तव्यस्थलका विकास गर्ने ध्येयले पहिलोपटक उक्त दरबार सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिएको हो ।
नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा रत्न मन्दिर बनाएको थियो । राजसंस्थाको अन्त्यपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको उक्त दरबार विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्दै आएको थियो । दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला गरिएको छैन ।