काठमाडौं– कवि दीप्स शाह एकल कविता वाचनमा सुनिएकी छन् । शनिबार नयाँअनलाइनको आयोजनामा सम्पन्न कविता वाचन कार्यक्रम कवि दीप्सले आफ्ना दर्जन सिर्जनाहरू सुनाएर उपस्थित अतिथि एवं दर्शकलाई मनोरञ्जन प्रदान गरिन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दीप्सले १२ वटा कविता सुनाएकी थिइन् । कार्यक्रममा प्रमुख प्रा.डा. पौडेलले दीप्स शाहलाई सस्तो नारावादी नभई विचारोत्तेजक कविको रूपमा चित्रण गरेका थिए ।
केही समय अगाडि नेपाली नारी हस्ताक्षरसम्बन्धि पुस्तकमा दीप्सको परिचय पढेको जनाउँदै अब दीप्स नारी हस्ताक्षरमात्र नभई सिंगो मुलुकको हस्ताक्षर भएको धारणा व्यक्त गरे ।
त्यस्तै, कवितामाथि टिप्पणी गर्दै साहित्यकार बिना थिङ तामाङले दीप्सका कवितामा आशावादी भेटिएको बताइन् । कविता होइन भन्दै धुँवादार कविता बोल्ने कवि दीप्सको सबै कवितामा आगो ओकलेको तामाङले चर्चा गरिन् । कार्यक्रममा उपन्यासकार मनिषा गौचन, श्रष्टा उषा शेरचनले पनि कवि दीप्सलाई शुभकामना दिएका थिए ।
दीप्सलाई सिर्जना राई, मिना कुलुङ, विष्णु नेम्बाङ र तिब्बत दर्लामीलगायतका सर्जकहरूले शाहका एक–एक कविता वाचन गरिदिएका थिए । नयाँअनलाइनका देवेन्द्र खापुङले सकेसम्म हरेक महिना यस्ता कार्यक्रमहरू गर्दै आउने जानकारी दिएका थिए ।
२०३८ सालमा धादिङको थाक्रेमा जन्मिएकी दीप्स सानै उमेरदेखि साहित्यमा रुचि राख्थिन् । उनका प्रसुन (साहित्यिक सँगालो २०६२), आगो (कविता संग्रह २०६७, २०६८), मुस्कानी फूलहरू (कविता संग्रह २०६९), कृति प्रकाशन भइसकेका छन् । साथै राइजिङ स्टार (साप्ताहिक २०५८–६०)को सम्पादन गरेर पत्रकारिता क्षेत्रमा पनि पदार्पण गरेकी उनले विचारहरूमाझ डा.दीर्घसिंह बम (जीवनी २०६२) पुस्तकको सम्पादन गरेकी छन् । उनको अनुभूतिमा इजरायल (यात्रा र अनुभव) पुस्तक प्रकाशोन्मुख छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनसास) र साहित्य सञ्जाल नेपालको आजिवन सदस्य रहेकी दिप्सले अनेसास इजरायलको सचिव रहेर काम गरिसकेकी छन् ।