-जेठको अन्तिमबाट मनसुन सुरु हुनुपर्नेमा यसपटक असार लागेपछि मात्र वर्षा हुने
- मनसुन सुरु भएको पहिलो हप्ता वर्ष भए पनि अर्को हप्ता लाग्दा सुक्खा लाग्ने
काठमाडौं - पछिल्ला दिनहरुमा तापक्रम बढ्दा मनसुनमा भने ढिलाइ हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया जेठ ३० बाट मनसुन सुरु हुनुपर्ने भए पनि यसपटक ढिला हुने जनाएको हो ।
‘नेपालमा मनसुन प्रवेश गर्ने भनेको १३ जुन हो । तर, अहिले ड्राइ कन्डिसन नै प्रोसेस भइरहेको छ,’ विभागकी मौसमविद् शान्ति कँडेलले भनिन् ।विभागका अनुसार सोमबार कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनायो । साँझ सोही प्रक्रिया जारी रहने विभागको पूर्वानुमान छ । विभागले मंगलबार ३० गते सोही प्रक्रिया जारी रहने उल्लेख गरेको छ ।
अरब सागरमा बढिरहेको साइक्लोन प्रणालीका कारण मनसुनमा ढिलाइ हुने मौसमविद् कँडेलको भनाइ छ । ‘अरब सागरमा साइक्लोन भएको कारण भारतमा मनसुनको प्रगति नहुने तर पूर्वबाट मनसुन छिर्ने देखिन्छ,’ कँडेलले भनिन्, ‘यो केही दिन ढिला हुने देखिन्छ । १३ जुनमा भित्रनुपर्नेमा १५÷१६ मा मात्र भित्रिने देखिन्छ ।’
यसपटक वर्षाको मात्र कम हुने पनि उनले बताइन् । ‘मनसुन भित्रिएपछि लगातार पानी पर्दैन । केही ब्रेक हुने देखिन्छ,’ कँडेलले भनिन्, ‘आगामी मनसुनका लागि नेपालका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ । जुन १६ देखि २२ को विकमा चाहिँ अलि वर्षा हुने सम्भावना देखिन्छ । त्यसपछि ड्राइ कन्डिसन प्रोसेस हुने देखिन्छ ।’
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० ०७:१०