गर्मी हपक्क बढेको छ । तराईंमात्र हैन काठमाडौं पनि चरक्क पारेको छ तातोले । यसपालि तापक्रमले झण्डै ४४ वर्षअघिको रेकर्ड तोड्दा सरकार बल्ल तातिएको छ– अब के गर्ने भनेर ? हुन त नेपालमा विपद्को कुनै पूर्वतयारी छैन । बाढीको पूर्वतयारीका लागि कक्षा लिन सशस्त्र प्रहरी दुई चारवटा ढुंगा लिएर त्रिशूलीतिरको स्थिर पानीमा रल्लिन पुग्छन् । दुई–चारवटा फोटो खिचेपछि फर्कन्छन् ।
‘जब पर्यो राति, अनि नानाभाँती’ भनेझैं विपद्को मुखमा पुगेपछि छट्पटिन थाल्छन् । लू अर्थात् तातो हावा यसअघि पनि चल्थ्यो । पूर्वतयारी नहुँदा कतिपयको ज्यान पनि लिन्थ्यो । यसपटक जनस्तरको तयारीका कारण अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।
यद्यपि, ४४ वर्षअघि नवलपरासीको दुम्क्यौलीमा ४३.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएकोमा यसपटक त्यहाँ ४३.८ सेल्सियस पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको भनाइ मान्ने हो भने अझै पनि रेकर्ड ब्रेक तापक्रम नियमित रहने देखिन्छ ।
तापक्रमले एक किसिमको तह पार गरेपछि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यो विषयको तातो लागेको देखियो । शुक्रबारमात्र प्रधिकरणले गृहमा यसबाट हुनसक्ने क्षति र पूर्वतयारीबारे छलफल गरेको थियो । चिकित्सकका अनुसार तातो हावाका कारण श्वासप्रश्वासमै समस्या आउन सक्छ । जिउ पोल्ने, थकाइ लाग्नेजस्ता समस्या सामान्य नै हुने भयो । तापक्रम अझ बढेमा ज्यानै जान सक्छ । तातो हावा चलेका कारण तराईमा विद्यालयहरु बन्द हुन थालेका छन् ।
कोरोनाकालमा डिजिटलरुपमा सुरु भएको पढाइ अब कहिले सुरु हुन्छ यसको कुनै निश्चितता छैन । तातोको पहिलो असर बालबालिका र वृद्धवृद्धालाई पर्छ । तातो हावाबाट बच्न चिसोमा बस्ने, बाहिर निस्कन नहुने, निस्कनै परे सावधानी अपनाउने जस्ता उपाय छन् । तर, अब खेती लगाउने समय आएको छ । कतिपयको परिवार ‘नगरी काम, पाइँदैन खान साँझ र बिहान’को अवस्थामा छन् ।
यस्तो अवस्थामा सरकारले जनहितमा विशेष ख्याल राख्नुपर्ने देखिन्छ । अत्यास लागेको बेला भर दिनु सरकारको कर्तव्य हो । यसका लागि तातो हावा चलेका क्षेत्रमा सरकारले मेडिकल टिम खटाउनुका साथै आवश्यक राहतको व्यवस्था गर्नुपर्छ । हिट वेभकै समयमा वर्ष पनि कम हुने देखिएको छ । यसले किसानलाई थप मर्का पर्ने देखिन्छ । त्यसैले यस विषय सरकारलाई हेक्का रहोस् ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० ०८:०२