काठमाडौं– नेपाली कांग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधन भएको छ । ललितपुर उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका ८९ वर्षीय शाक्यको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो ।
प्रजातन्त्र सेनानी संघ ललितपुरका पूर्वअध्यक्षसमेत रहेका स्व. शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
स्व. शाक्यको निधनमा पार्टीका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
‘कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ, कठिन परिस्थिति, प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र नेपाली काँग्रेसको संगठन निर्माणमा उहाँले पुर्याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले दुःखको यस घडीमा स्व. शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ ०८:१४