काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बजेटमा गुणस्तरीय शिक्षाले खासै ठाउँ नपाएको बताएका छन्।
आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटको बुँदा २१० मा हामीहरुले बुढानीलकण्ठ जस्तो विद्यालयहरु मुख्य सहर र बजारहरुमा बनाउने भनेर राखिएको बताएका हुन्।
‘तर हामीले बुढानीलकण्ठ विद्यालयको प्रतिव्यक्ति खर्च हेर्यौं भने वर्षको साढे चार लाख जति पर्छ। एउटा विद्यार्थीमाथि बुढानीलकण्ड विद्यालयले वर्षको साढे चार लाख खर्च गर्छ। तर नेपालको सार्वजनिक विद्यालयको औसत खर्च १७/१८ हजार मात्रै हो’, खनालले भने।
उनले ज्ञानोदय जस्तो विद्यालयले चार हजारभन्दा बढी विद्यार्थी पढाउँदा एउटा विद्यार्थीमाथि १८ हजार रुपैयाँ मात्रै खर्च गर्ने तथ्यांक प्रस्तुत गरे।
‘त्यो अर्थमा के हामीले साँच्चै आजको अवस्थामा बुढानीलकण्ठ जस्तो विद्यालय बनाउने हो कि राम्रा र गुणस्तरीय ज्ञानोदयजस्ता विद्यालय, विशेषगरी सहरहरुमा ठूला विद्यालय बनाउने परिकल्पना गर्ने? हाम्रो अर्थतन्त्रको आकारले कस्तो खाले विद्यालय परिकल्पना गर्ने भन्ने कुरामा पनि हामी अलिकति चुकेका छौं जस्तो लाग्छ’, उनले भने।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १३:५०