काठमाडौं - नेपालले पहिलोपल्ट एसिया कप खेल्न लागेको छ । पहिलोपल्ट खेल्न लागेको नेपालले समूह ए मा भारत र पाकिस्तानसँगै परेको छ ।
नेपालले समूहमा एक खेल पाकिस्तान र अर्को खेल श्रीलंकामा खेल्नुपर्ने अवस्था हुनसक्छ । भारत र पाकिस्तानले एकअर्काको देशमा यात्रा गर्न अस्वीकार गरेपछि आयोजक पाकिस्तानले सुरुमा दुवईलाई तटस्थ भूमिका रुपमा प्रयोग गर्न आग्रह गरेको थियो ।
तर, बंगलादेशले सेप्टेम्बरमा मध्यपूर्वमा हुने चरम गर्मी अवस्थाबारे चिन्ता व्यक्त गरेको थियो । त्यसपछि श्रीलंकाले आफ्नो देशमा आयोजना गर्न प्रस्ताव गरेको थियो ।
श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ ।
यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् ।
क्रिकेटसम्बन्धी विश्वव्यापी वेवसाइट क्रिकइन्फोका अनुसार सोमबार यसबारे घोषणा हुनेछ । प्रतियोगिताका लागि हाल १–१७ सेप्टेबरको समय निर्धारण गरिएको छ । पाकिस्तानमा हुने खेल लाहोरमा हुने सम्भावना छ ।
दुई देशबीचको समस्याले भारतमा यसै वर्ष आयोजना हुन लागेको आईसीसी एकदिवसीय विश्वकपमै असर पर्नसक्ने सम्भावना थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १४:५२