पछिल्लो समय नेपालीजनमा राष्ट्रियताको निकै नै मोह जागेको देखिन्छ । हरेक नेपालीले छिमेकी राष्ट्रका विपक्षमा खुलेरै सामाजिक सञ्जालमा आफ्ना कुराहरु अभिव्यक्त गरेको देख्न र सुन्न सकिन्छ । नेपालीहरु कुरा बढी र काम कम गर्ने भन्ने कुरा विगतदेखि हालसम्मको अवस्थालाई हेर्ने हो भने पुष्टि हुन्छ ।
आजको अवस्थामा आइपुग्दा विश्न ‘ग्लोबलाइजेसन’ (विश्वव्यापीकरण)को अवस्थामा छ । विश्न बजार व्यापक हुँदै गइरहेको छ । तर, नेपाल कृषिप्रधान वा जलस्रोतको धनी देश भएर पनि सही सदुपयोग गर्न नसक्दा परनिर्भर बन्न बाध्य भएका छौं ।
तीन दशकअघिसम्मको अवस्थालाई हेर्ने हो भने नेपालमा उत्पादन भएका धेरै वस्तु बाहिरी बजारसम्म पुग्ने गर्दथ्यो तर अहिले अवस्था ठीक उल्टो भएको छ । हामीले उत्पादन गरेर विदेश निर्यात गर्ने होइन विदेशीले उत्पादन गरेको सामग्रीहरु हामीले उपभोग गर्न थालेका छौं । अर्थात् हामी परनिर्भर बनिरहेका छौं ।
यो परनिर्भताका बीचमा पनि हामीले आफ्नो राष्ट्रियताका विषयमा उठान गर्ने कुराहरुलाई अडिग नै राखेका छौं । सानातिना कुरामा पनि हामी निकै राष्ट्रवादी बनिरहेका छौं । हो, राष्ट्रवादी बन्नु आवश्यक छ तर मुलुकलाई परनिर्भर बनाएर होइन । आत्मनिर्भर बनाएर अगाडि बढ्नुपर्ने छ ।
देशका भएभरका कलकारखाना बेच्ने हामीले मुलुकलाई आत्मर्भिर बनाएसम्म पनि विदेशी शक्तिहरुले दबाउने प्रयास निरन्तर गर्दै आइरहेका छन् । हामीले मुकुमभित्र भएका स्रोत साधनको उचित व्यवस्था गर्न सक्थ्यौं तर गरेनौं ।
नेपाली जनताले परनिर्भर बन्न खोज्नु राष्ट्रका लागि निकै नै घातक सिद्ध हुनेछ । अब युवा पुस्तालाई विदेश पठाएर होइन नेपालमा नै उद्यमी बनाउन जरुरीछ । त्यसका कारण अब नेपालमा भएका स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरी पर्यटन क्षेत्र, कृषि क्षेत्र तथा जलस्रोतको क्षेत्रमा लगानी गर्ने र त्यसका उत्पादनहरुलाई विदेश निर्यात गरी आत्मनिर्भर बन्न सकिन्छ ।
आफ्नो देशको पहिचान बोक्ने खालका उत्पादनशील क्षेत्रमा राज्यले लगानी गर्नुपर्दछ । त्यसका लागि युवा पुस्तालाई उत्पादन क्षेत्रमा संलग्न गराउने र मुलुकलाई आत्मनिर्भरतातर्फ लैजान जोड दिनुपर्छ । पछिल्लो केही दशकदेखि हामी परनिर्भर भयौं । अब राष्ट्रियताका आडम्वरी भाषण जनतालाई सुनाउनेभन्दा पनि राष्ट्रलाई आर्थिकरुपमा समृद्ध बनाउनेगरी आत्मनिर्भरतातिर डो¥याउन नेतृत्वपंक्ति लाग्न पर्ने देखिन्छ ।
मुलुकलाई परनिर्भर बनाए बसिरहँदा न त राष्ट्रियतालाई बलियो बनाउन सकिन्छ न त जनतालाई नै समृद्ध बनाउन सकिन्छ । त्यसैले पनि स्थानीय तहदेखि संघीय सरकारले पनि आत्मनिर्भरताको बाटो जनतालाई देखाउन ढिलो भइसकेको छ । सबै मिलेर मुलुकलाई आत्मनिर्भर बनाऔं ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० ११:१३