काठमाण्डौं – जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार केही दिनयता वायुमण्डल प्रदूषणका कारण काठमाडौँ उपत्यकालगायतका देशका अधिकांश क्षेत्रमा तुवाँलो लागेको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको हो ।
“मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन”, अर्यालले बताए । नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित भएमा मौसम खुल्ला भई घाम लाग्ने र बुधबारबाट नयाँ मौसमी प्रणाली विकास भई आकाश खुल्ला हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । वायुमण्डल प्रदूषणका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुनसक्ने खतरा रहेको र वायुमण्डलको पारदर्शिता तीन हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न नसकिने मौसमविद्ले जानकारी गराए । अन्तर्राष्ट्रिय उडानमा वायुको पारदर्शिता तीन हजार मिटरभन्दा कम भएमा उडान प्रभावित हुने जनाइएको छ तर नेपालको वायुमण्डलको पारदर्शिता तीन हजार मिटरबाट तल नझरेकाले तत्कालै उडान प्रभावित नहुने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६ ०९:४०