प्याज काट्दा आँशु आउनु प्राकृतिक नियम नै हो । तर, अब प्याज किन्दासमेत उपभोक्ताको आँशु आउने अवस्था सिर्जना भएको छ । कारण प्याज आयातमा सरकारले घोषणा गरेको कर।
सरकारले प्याज, आलु र स्याउमा १३ प्रतिशत आयात कर लगाउने घोषणा बजेट भाषणमै गर्यो । हुन त यो बजेट पास भइसकेको छैन । तर, प्याज व्यवसायीले भने पासमात्र हैन सरकारले गरेको प्रस्तावलाई लागू नै गरिसकेका छन् ।
बजेट आउनुअघि प्याजको खुद्रा मूल्य किलोको अधिकतम ५० रुपैयाँ पुगेको थियो । अहिले प्याज किलोको १०० रुपैयाँ पुगिसकेको छ । अघिल्ला बजेटहरुमा सरकारी कर्मचारीको तलब बढ्ने घोषणा हुनसाथ बजार महँगिन्थ्यो । यसपटक भने प्याजमा लगाइने १३ प्रतिशत भ्याटको घोषणाले उपभोक्त रुनुपर्ने अवस्था छ ।
कतिपयले यसलाई डा. प्रकाशशरण महतको बजेटको पहिलो ‘साइड इफेक्ट’ भन्न थालेका छन् । संसद्मा पनि सोमबार प्याजको बढेको मूल्यबारे प्रश्न सोधे सांसदहरुले । कतिपय सांसदले नेपाल आफै उत्पदानमा सक्षम नभएसम्म आयात कर लगाउन नहुने धारणा राखे । नेपालमा उत्पादन नभएको अवस्थामा खाद्यान्नमा कर लगाउँदा भन्सार अचाक्ली महँगिन्छ ।
प्याजमा नेपाल आत्मनिर्भर छैन । त्यसैले व्यापारीले यस्तै बेला मौका छोपी भाउ चर्काउने गर्छन् । संसदमा प्रश्न उठेपछि अर्थमन्त्री महतले आयात निरुत्साहित पार्न भ्याट लगाएको तर्क दिएका छन् । प्याजमा भ्याट लगाउँदा आन्तरिक उत्पादन बढ्नुका साथै साना किसानको संरक्षण हुनेसमेत दाबी गरेका छन् ।
तर, अर्थमन्त्रीले भनेजस्तो कर लगाउँदैमा उत्पादन बढ्नेमा ढुक्क हुने वातावरण छैन । स्वदेशमा लगानीको वातावरण पटक्कै नहुँदा धेरैले नेपाल छाडेको घटनाहरु छन् । गुणस्तरीय उत्पादन बिक्री गर्ने किसान स्वदेशमा टिक्न सक्दैनन् । कमसल सामान बेचेर मुनाफा कमाउनेहरुमात्र देशमा बाँच्ने वातावरणले दिनहुँ आर्थिक अवस्था ओरालो लाग्दो छ ।
नेपालमा न त कृषिमा लगानीको वातावरण छ न त व्यवसायमै । जसले गर्दा युवाहरु पढ्ने नाम गरी जापान, कोरियादेखि अस्ट्रेलिया भासिरहेका छन् । श्रमको मूल्य नपाएका श्रमिकहरु खाडीतिर । भान्सा सस्तिने हो भने यही टिकेर केही गर्ने वातावरण बन्थ्यो नै । तर, सरकारले यस्ता सामान्य विषयमा नसोचिदिँदा नागरिकले अनाहकमा दुःख पाउने र विदेशिनुपर्ने अवस्था आइलागेको छ ।
त्यसैले प्याज, आलु, स्याउजस्ता खाद्यन्नमा भ्याट लगाए पनि सरकारले बजारमा बढेको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि विशेष संयन्त्र नै तयार गर्नुपर्छ । यस्ता संयन्त्रले मोनिटरिङ गरेर सरकारले जनतालाई सहज बनाइदेओस् । छाक टार्न तरकारी हेर्दैमा आँशु खस्ने वातावरणको अन्त्य होस् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० ०९:११