काठमाडौं— अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७औँ स्थानमा थियो । हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो ।
नयाँ बरियताअनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन् । बरियताअनुसार शीर्ष स्थानमा बेलायत रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।
आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२औँ स्थानमा यथावत छ । व्यक्तिगततर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत अवस्थामा छन् । बलिङमा सन्दिप ८४औँ स्थानमा छन् । यसअघि उनी ८५औँ स्थानमा थिए । यसअघि ७५औँ स्थानमा रहेका करन ७४औँ स्थानमा पुगेका छन् ।
यस्तै अलराउण्डरतर्फ पारस २७औँ स्थानमा यथावत छन् । ब्याटिङतर्फ पारस ६२औँ स्थानमा यथावत छन् । समोपाल कामी पनि ६५औँ स्थानमा यथावत छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६ ०६:४८