प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्केपछि छटपटीमा देखिन्छन् । भारतबाट फर्केलगत्तै दाहाल पशुपतिनाथमा पुगे । भारत पुगेका मन्त्रीको डफ्फा नै बोकेर पशुपतिको दर्शनमा निस्केका दाहाल त्यसअघि गेरु वस्त्रमा देखिएका थिए महाकालेश्वरमा । गेरु वस्त्रमा देखिएका दाहालले काँचुली फेरेको फेर्यै छन् ।
यसपटक प्रधानमन्त्री बन्नसाथ दौरासुरुवालमा ठाँटिएका थिए दाहाल । उनी प्रधानमन्त्री भएपछि सरकार खासै स्थिर नरहेको पहिलेदेखिकै रेकर्ड हो । तेस्रोपटक प्रधानन्त्री बनेका उनले यही कार्यकालमा एमालेपछि कांग्रेसको बुइँ चढेका छन् ।
पछिल्ला दिनहरुमा राजनीतिक गडबडीको संकेत देखिएको छ । यही बेला नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नेताहरु हिरासतमा परेका छन् । यही बेला नागरिकता विधेयकको मुद्दा उठेको छ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थता देखाउँदै बेडमै छन् । सरकार गठनपछि सबैभन्दा पहिले विदेश पुग्ने राष्ट्रप्रमुख उनी नै बने । यही बेला देशकै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् ।
माओवादीका नेता वर्षमान पुन चीनतिर छन् । नेताहरु उपचारको नाममा शक्ति राष्ट्रको पछि लागिरहेका छन् । यही बेला प्रधानमन्त्री दाहालले छिट्टै समाजवादी मोर्चा गठन गर्ने चेतावनी दिएका छन् । दाहालको समाजवादी मोर्चा यस्तो अस्त्र हो, जतिबेला उनी अप्ठेरोमा पर्छन् उठाइहाल्छन् । एमाले छाडेर कांग्रेससँग गठबन्धनपछि मन्त्री भागबण्डा नमिलेको समयमा पनि दाहालले यही अस्त्र उठाएका थिए ।
यसअघि पनि दाहालले साना–साना दलको गठबन्धन बनाएर सत्तासँग बार्गेनिङ गर्थे । कांग्रेसलाई माधव नेपालको पार्टी, उपेन्द्र यादवको पार्टी, डा. बाबुराम भट्टराईको पार्टी र नेत्रविक्रम चन्दको पार्टी देखाएर तर्साउने बार्गेनिङको अस्त्र हो समाजवादी मोर्चा । आफू अप्ठेरोमा पर्नसाथ चिथोर्न खोज्ने बिरालोझैं दाहालले यही अस्त्र उठाउँछन् । दाहालको पछिल्लो गर्जन अलि चर्कै छ । जब कोही अप्ठेरोमा पर्छ उसको ‘बचाऊ’ भन्ने गर्जन ठूलै हुन्छ ।
मुसाहरु किन पासोमा पर्छन् ? एउटा उक्तिको जवाफ छ कि मुसाहरुलाई सित्तैमा खान पाइँदैन भन्ने नै थाहा हुँदैन । त्यसैले उनीहरु सजिलै पासोमा पर्छन् । नेपाली नेताहरुको हालत यस्तै छ । सत्तामा पुग्नेबित्तिकै लवालस्कर लिएर अनुदानका लागि अनुनय गर्दै विदेश भ्रमणमा पुग्छन् । कसले बढी नयाँ परियोजनाको परिकल्पना गर्नेभन्दा पनि कसले बढी अनुदान ल्याउने प्रतिस्पर्धा नै हुन्छ नेताहरुमा । अनि विदेशी शक्तिको पासोमा पर्छन् । यसपटक भारत भ्रमणपछिको दाहालको छटपटीलाई पनि यसरी लिने कि ! यस्तो घटनाबाट अरु नेताले पनि सिक्ने कि !
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०८:२८