लाजिम्पाट संखुनास्थित नीलसरस्वतीलाई मञ्जुश्रीको अर्धांगिनी मानिन्छ । त्यसैले श्रीपञ्चमीका दिन स्वयम्भूको मञ्जुश्री स्थान, भक्तपुरको ल्हासापाको, ललितपुरको लेलेजस्तै लाजिम्पाटको नीलसरस्वतीस्थानमा पनि मेला लाग्ने गर्दछ । शखोना लिच्छवीकालीन राज्य शंखस्यनगरीको राजधानी विशालनगरबाट अन्तिम सिमाना हो । सखुनास्थित टुकुचा खोला छेउ स्थापित नीलसरस्वतीलाई विद्याकी देवीको रुपमा पुजिन्छ । गुम्बज आकार शैलीको मन्दिर १४औं शताब्दीमा निर्मित हो । मन्दिरभित्र कलात्मक नीलसरस्वतीको ढुंगे मूर्ति छ । जहाँ प्रत्येक वर्ष अक्षरारम्भ र शैक्षिक सफलताका लागि पूजा, दर्शन हुने गर्दछ ।
पदम श्रेष्ठ
आठ सय मिटरको सडक बनाउन सुरु गरेको तीन वर्षभन्दा बढी भइसक्यो तर अझै पनि सकिएको छैन । यो कुरा सुन्दा तपाईंलाई लाग्न सक्छ– त्यो सडक सुदूरपूर्व वा सुदूरपश्चिमको विकट गाउँको होला । तर, होइन यो मुलुकको राजधानी काठमाडौंकै सडकको अबस्था हो ।
नारायणहिटी दरबार संग्रहालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोडिएको वडा काठमाडौं महानगरपालिका–२ को भित्री बस्तीमा बन्दै गरिरहेको सहायकमार्ग । गैह्रीधारा गोमागणेश पेट्रोल पम्पदेखि ऐतिहासिक सम्पदा क्षेत्र नीलसरस्वती थानसम्मको ८०० मिटरको बाटो बनाउन यसरी वर्षौं समय लगाएपछि स्थानीयवासी आजित भइसकेका छन् ।
टुकुचा नदीलाई व्यवस्थापन गर्ने भन्दै थालिएको ढल र बाटोको निर्माण लागत विवरणको बोर्ड, ठेकेदार कम्पनी, समयसीमा कुनै नराखिकनै अकस्मात विनासूचना काम थाल्ने र काम अलपत्र छाड्ने गर्नाले आफूहरु पीडित हुनुपरेको यहाँका स्थानीय बताउँछन् । पानी पर्दा हिलो र सुक्खा हुँदा धुलो उडेर घर, पसलभित्रै बस्न नसक्ने अबस्था छ । यसबारे पटक–पटक वडामा ताकेता गर्दा पनि कुनै ध्यान नदिएपछि विद्रोहको तयारी गर्नु परेको स्थानीयको भनाइ छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले एक वर्षभित्र थालिएका २५ वटा असल कार्यहरुमा बाटोको खाल्डाखुल्डी पुर्न पूर्वाधार एम्बुलेन्स र कर्मचारी खटाइएको भन्दै प्रचार गरिएको थियो ।
तर, कामपा वडा नं २ भित्रको सहायकमार्ग हेर्दै जाने हो भने वडा भवनदेखि सरकारी धारा हुँदै नीलसरस्वती स्थानसम्म, गैह्रीधारा पेट्रोल पम्पदेखि नीलसरस्वतीस्थानसम्म र नीलसरस्वतीस्थानदेखि खुर्सानीटार जानूस् वा दिल्लीरमण रेग्मी पुस्तकालय पुग्नूस् जताततै कोपरेर छाडेका अलपत्र निर्माण सामग्रीमात्र देख्न सकिन्छ । जुन तथ्यलाई बालेनको पूर्वाधार एम्बुलेन्स र वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने देखेका छैनन् वा देखेर पनि नदेखेझैं गरिरहेका छन् ।
सँखुनाको नालिबेली र विद्याकी देवी सरस्वती
लिच्छविकालीन बस्ती शंकस्यनगरी विशालनगर हाँडिगाउँको अन्तिम सिमाना लाजिम्पाट नीलसरस्वतीसहितको सम्पदा क्षेत्रलाई नेपाल भाषामा सँखुना अर्थात् सानो मसिनो कपालजस्तो पवित्र नदीको बस्ती ससुमाँ भनिएको बताइन्छ । जुन वडामा राजा मानदेवकी माताको नाउँमा स्थापित धोविचौरस्थित महादेवको शिवलिंग र लाखे लक्षी विचरण गर्ने लाजिम्पाट (लक्षिपट) दयाश्वर महादेवसहितको सम्पदा क्षेत्र रहेका छन् ।
त्यसैगरी शंकस्यनगरी विशालनगरको देश रक्षार्थ स्थापित अस्तमातृकामध्ये एक स्वयतकाली, प्राचीन पुरतात्विक अस्तित्व बोकेको शिवगल्ली रहेका छन् ।
सकोना नीलसरस्वती सम्पदा क्षेत्र नेपाल सम्वत् १०६ ताका कान्तिपुर बसाउँदा ठमेल (थँवहिल माथिल्लो बुद्ध विहार) भन्दा छुट्टै थियो । काठमाडौं नगरलाई ठँहिटी क्वाःवहालदेखि असन माछा देवतासम्म थथुपुँई (थँहिटी), माछा देवतादेखि मखनसम्म दथुपुई, मखनदेखि मरूसत्तल (काष्ठमण्डप) सम्म लाय्कूपुँई र मरूसतःदेखि यँगालसम्म क्वथुपुँई गरी चार एकाइमा वर्गीकृत गरिएको थियो ।
चार पुँईभित्र १८ महाविहार र शाक्यहरुको बुद्ध विहार थिए तर श्रेष्ठ प्रधानहरुको थँवहिल बुद्ध विहारलाई राजा गुणकामदेवले व्यवस्थित गर्दा कान्तिपुरभन्दा छुट्टै ठमेल अर्थात् थँवहिल विहार क्षेत्र र अर्को लिच्छविकालीन राज्य शंखस्यनगरी विशालनगरको अन्तिम सिमाना मानिने टुकुचा खोलाको किनारामा रहेको यो वडा मुलुककै सबैभन्दा सानो वडा मानिन्छ । जुन वडा काठमाडौं महानगरपालिका वडा नं २ स्थित विद्याकी देवी मन्दिरले प्रख्यात यस क्षेत्रमा स्थापित नीलसरस्वतीकै साधना गरी अमर बाँडाले शक्तिका उपासक शंकराचार्यलाई शास्त्रार्थमा हराइदिएको ऐतिहासिक सम्पदास्थल पनि हो ।
जुन मौलिक सम्पदास्थललाई पर्यटकीयस्थलको रुपमा उत्थान गर्दै लैजान स्थानीय युवाहरु जुर्मुराएकै बेला वडाध्यक्ष तथा स्थानीय जनप्रतिनिधिहरुबाट साथ सहयोग र भरोसा नभइदिँदा सडक मात्र होइन पानीका पाइप, बिजुलीका तार, निर्माण सामग्री अस्तव्यस्त अलपत्र हुँदै जान थालेपछि स्थानीयबासिन्दाले वडाध्यक्षको विरुद्ध आवाज उठाउनुपरेको बताएका छन् ।
नीलसरस्वती मन्दिर
लाजिम्पाट संखुनास्थित नीलसरस्वतीलाई मञ्जुश्रीको अर्धांगिनी मानिन्छ । त्यसैले श्रीपञ्चमीका दिन स्वयम्भूको मञ्जुश्री स्थान, भक्तपुरको ल्हासापाको, ललितपुरको लेलेजस्तै लाजिम्पाटको नीलसरस्वतीस्थानमा पनि मेला लाग्ने गर्दछ । शखोना लिच्छवीकालीन राज्य शंखस्यनगरीको राजधानी विशालनगरबाट अन्तिम सिमाना हो ।
सखुनास्थित टुकुचा खोला छेउ स्थापित नीलसरस्वतीलाई विद्याकी देवीको रुपमा पुजिन्छ । गुम्बज आकार शैलीको मन्दिर १४औं शताब्दीमा निर्मित हो । मन्दिरभित्र कलात्मक नीलसरस्वतीको ढुंगे मूर्ति छ । जहाँ प्रत्येक वर्ष अक्षरारम्भ र शैक्षिक सफलताका लागि पूजा, दर्शन हुने गर्दछ । विद्यार्थीहरु परीक्षा दिनुअघि परीक्षामा सफलताको कामना गर्दै सरस्वती माताको भाकल गर्न पुग्ने गर्दछन् भने नयाँ काम सिक्दा वा विदेश जाँदा आउँदा पनि भक्तजनहरु पुग्ने गर्दछन् यहाँ । तर, मन्दिर वरिपरि सामुदायिक प्रहरी बिट अलपत्र, मृत्युकर्ममा किरियापुत्री बस्ने कोठाहरु फोहोर भत्किएको अबस्थामा देख्न सकिन्छ ।
धोवीचौरस्थित मानदेवकालीन महादेव
नीलसरस्वतीनजिकै धोवीचौरस्थित लिच्छवीकालीन महादेव मन्दिर पनि एक हो । लुगा सुकाउने चौरबीच शिवलिंगको पादपीठमा उल्लिखित सम्वत् ३८९ र ३९० ले यस क्षेत्रको पुरातात्विक पक्षलाई उजागर गरेको छ । मन्दिर राजा मानदेवले आफ्नी आमाको इच्छामुताविक निर्माण गर्न लगाएको भनाइ छ । जहाँ लुगा धुने ढुंगेधारा र शिलारुपी चामुण्डा अजिमा लिच्छवीकालीन अष्टमातृकामध्ये एक मानिन्छ ।
दयाश्वर महादेवस्थल
लाजिम्पाटको सात्विक अर्थ लाखेलछी अर्थात् दुष्ट आत्माविचरण गरी हिँड्ने ठाउँ हो । लछिपट नै नेपाल भाषामा अपभ्रंस भई लाजिम्पाट भन्न थालियो । यही दुष्ट आत्मालाई दबाउन स्थापित शिवस्थल हो, दयाश्वर महादेव । आधा रोपनीको क्षेत्रफलभित्र चर्चिएको देवस्थल लिच्छविकालीन भएता पनि मल्लकालमा संरक्षित भएको विश्वास गरिन्छ । मन्दिरभित्र भोज भत्तेर गर्ने फल्चापाटी, भजनघर, यज्ञस्थल, कूण्ड, सप्तर्षी, गणेश, बुद्धका मूर्तिसहित तीर्थस्थलका रुपमा छ भने प्रत्येक वर्षको शिवरात्री, तीज, साउने सोमबार आदि चाडपर्वमा यहाँ भक्तजनको ठूलो मेला लाग्ने गर्दछ ।
श्वेतकाली भगवती मन्दिर
लिच्छविकालमै स्थापित अष्टमातृका पीठहरु नक्साल भगवती, टुँडालदेवी, भाटभटेनी, मैतीदेवी भनिएजस्तै नीलसरस्वती नजिकका श्वेतकाली चामुण्डा पनि हो । भुइँतले मन्दिरभित्र सादा ढुंगा पुजिन्छ भने हाँडिगाउँको गहना खोज्ने जात्रामा श्वेतकाली खटजात्रा ज्यापु हुँदै आइरहेको छ ।
रानीबारी पोर्पा अजिमा
लाजिम्पाट रानीबारी ज्यापु जातिको अजिमास्थल मानिन्छ । थुम्कोमाथि रानीदेवी मन्दिर छ । राजाहरूकोसमेत देवाली हुने रानीदेवी सामाखुशी नदी किनारमा छ । जुन जंगलमा विवाह, ब्रतबन्ध आदि र पिकनिक हुन्छ भने यहाँ असोज महिनामा ज्यापु समुदायबाट क्षमापूजा गर्ने परम्परा छ । तर, मोर्पा अजिमा रानीबारी दुई वडाभित्र नपरे पनि वडावासी ज्यापु समुदायको यो सम्पदास्थल नै हो ।
सँखोना सम्पदालाई व्यापक बनाउने अबको मार्ग
विद्याकी देवी सरस्वती रहेको वडाभित्रको सम्पदा व्यवस्थापनमा वडाका जनप्रतिनिधिहरुकै हेलचेक्र्याइँ देखिन्छ । त्यही कारण दिन प्रतिदिन ‘अस्तव्यस्त, छरपष्ट’को स्थितिमा बिग्रँदै गइरहेको स्थानीयको गुनासो छ ।
जुन सम्पदालाई ठमेल, हाँडिगाउँजस्तै छुट्टै सम्पदा क्षेत्रको रुपमा विकास गर्न स्थानीय युवाजमात चाहन्छन् । वर्तमान वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफ्नो घोषणापत्रमा प्रतिबद्धता जनाएको वृक्षरोपणसहित वडामा हरियाली गर्ने, शिक्षाकी देवी सरस्वती मन्दिरलाई केन्द्रित गरी आधुनिक पुस्तकालय निर्माण गर्ने र खेलकुदको विकास गर्ने, बेरोजगार युवाजमातलाई लोकसेवा तथा अन्य रोजगारमूलक तालिम दिने भनी उल्लेख गरेका थिए ।
तर, उक्त कार्ययोजना पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकालको पनि एक वर्ष बित्दासमेत पूरा गर्न सकेका छैनन् । प्रस्ताव लिएर वडामा जाँदा पनि बेवास्ता गर्ने, उल्टै नगरपालिकाको बजेटबाट बनिरहेको वडाभित्रका सम्पदा र मार्गहरु कति लागतमा बन्न लागेको हो, कुन ठेकेदार कम्पनीले कति समयमा बनाउन लागेको हो भन्नेसमेत जानकारी गराउने सूचना बोर्ड नराखी वर्षौं निर्माणको नाममा अलपत्र बनाएपछि वडावासीले आपत्ति जनाएका हुन् ।
यस सम्बन्धमा जनगुनासो बुझ्न जाँदा वडाध्यक्ष श्रेष्ठले आफूसँग कुनै योजना नरहेको र आफूले केही पनि गर्न नसक्ने भन्दै पदीय जिम्मेवारीविपरीत जवाफ फर्काएका थिए । यस्तो अवस्था सिर्जना हुनु अत्यन्त दुःखद् छ । जनप्रतिनिधि यसमा जिम्मेवार बन्न जरुरी छ ।