मुम्बई– भारतीय फिल्म उद्योगको एक उत्कृष्ट अवार्ड मानिने फिल्मफेयर अवार्डमा यस पटक ‘गली ब्वाई’ले नयाँ कीतिमान कायम गरेको छ । शनिबार सम्पन्न ६५औँ फिल्मफेयर अवार्डमा यो फिल्मले १४ वर्षको कीर्तिमान तोडेको हो ।
यस फिल्मले कुल १३ विधाको अवार्ड जितेको छ । यस वर्ष फिल्मले फिल्मफेयरको इतिहासमा सर्वाधिक अवार्ड जित्ने फिल्मको कीर्तिमान बनाएको हो । सन् २००५ मा रानी मुखर्जी र अमिताभ बच्चन अभिनित फिल्म ‘ब्ल्याक’ले ११ विधामा अवार्ड जित्दै कीर्तिमान बनाएको थियो । त्यसबेला ‘ब्ल्याक’ले १९९५ मा रिलिज भएको ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ र सन् २००२ मा ‘देवदास’ले जितेको १० अवार्डको कीर्तिमानलाई तोडेको थियो ।
६५औँ फिल्मफेयरमा ‘गल्ली ब्वाई’ले उत्कृष्ट फिल्मसहित उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा गरी १३ विधामा अवार्ड हात पारेको छ । यस फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जोया अख्तर, उत्कृष्ट अभिनेत्री लिडिङ रोलमा आलिया भट्ट र अभिनेतामा रणवीर सिंहले अवार्ड जितेका छन् ।
यसै फिल्मबाट उत्कृष्ट प्रोडक्सन डिजाइनमा सुजेंन कप्लान, छायाङ्कनमा जय ओजा, उत्कृष्ट म्यूजिक एल्बममा कबीर सिंह, अभिनेता सर्पोटिङगमा सिद्धान्त चतुर्वेदी, उत्कृष्ट अभिनेत्री सर्पोटिङमा अमृता सुभाष, पटकथामा रीमा कागती र जोया अख्तर तथा उत्कृष्ट सम्बादमा विजय मौर्याले अवार्ड पाएका छन् ।
यस्तै, कार्यक्रममा उत्कृष्ट फिल्म (क्रिटिक च्वाइस)मा ‘आर्टिकल’, अभिनेतातफै क्रिटिक च्वाइसमा आयुष्मान खुराना ‘आर्टिकल’बाट र अभिनेत्रीतर्फ क्रिटिक च्वाइसमा भूमि पेडनेकर र तापसी पन्नूले ‘सान्ड की आँख’बाट अवार्ड पाए ।
यस्तै, उत्कृष्ट लिरिक्स ‘अपना टाइम आएगा’बाट अंकुर तिवारी, उत्कृष्ट प्लेब्याक सिंगर मेलतर्फ ‘कलंक नही’बाट अरजीत सिंह, उत्कृष्ट प्लेब्याक फिमेलतर्फ ‘घुँघरु टूट गए’बाट शिल्पा रावले फिल्म ‘वार’बाट अवार्ड पाएका छन् । यस्तै, कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ रमेश सिप्पीलाई प्रदान गरिएको छ । उत्कृष्ट गीत रचनामा डिभाइन र अंगुर तिवारीले ‘गली ब्वाई’बाट अवार्ड पाए । डेब्यू अभिनेत्रीमा अनन्या पाण्डेले ‘स्टूडेन्ट अफ द ईयर–२’बाट अवार्ड पाइन् भने डेब्यू अभिनेतामा अभिमन्यू दसानी फिल्म ‘मर्द को दर्द नहीँ होता’बाट अवार्ड पाएका छन् ।