काठमाडौं- शहरी विकासमन्त्री सीता गुरूङले बागमती सफा गर्न नागरिक र सरकार सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएकी छिन् । उनले सरकारले बागमतीसहित काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको र त्यसकालागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताइन् ।
शनिबार काठमाडौंका गुहेश्वरीमा निर्माण भएको ढल प्रशोधन केन्द्र र बागमती करिडोरको स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले भनिन्, ‘बागमतीलाई सफा गर्न, सुन्दर बनाउन सरकारले यी परियोजनाहरू सञ्चालन गरेको छ । तर, बागमती अझै संङ्लो भइसकेको छैन,’ उनले भनिन्, ‘नदीमा फोहोर फ्याँक्ने, ढल बगाउने र प्रदुषित गर्ने काम यसको वरपर बसेका हामीहरूबाटै भइरहेको छ । त्यसैले बागमती सफाईकालागि नागरिकको पनि थप सक्रियता र खबरदारी आवश्यक छ ।’
उनले बागमती सफाईका लागि लामो समयदेखि स्वयम्सेवी अभियान सञ्चालन भइरहेको भन्दै त्यसको प्रशंसासमेत गरिन् ।
मन्त्री गुरूङले नदीहरूमा फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै बागमतीलाई सफा र स्वच्छ बनाउन सकिने बताइन् ।
‘घर घरबाट निस्किएको ढल त्यतिकै नदीमा मिसिइरहेको छ, त्यही ढललाई हामीले प्रशोधन गर्न गुहेश्वरीको यो ढल प्रशोधन केन्द्र हो, यो पहिलो र परीक्षणका लागि गरिएको नमुना परियोजनासमेत थियो,’ उनले भनिन्, ‘यसले बागमतीमा मिसिदै आएको ढललाई प्रशोधन गर्न सफल भएको छ । त्यसकारण सरकारले थप सात वटा यस्तै प्रशोधन केन्द्रहरु बनाइरहेको छ ।’
उनले ती सबै प्रशोधन केन्द्रहरू निर्माण भएको अवस्थामा नदी सफाईकालागि थप मद्धत पुग्ने बताइन् । हाल गुहेश्वरीमा सञ्चालित ढल प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २० लाख लिटर पानी प्रशोधन हुदै आएको छ ।