इतिहासकै बलियो सरकारले आज आफ्नो मुलुकको सीमाको सुरक्षा गर्न सकेन । आफ्नो भूमिको रक्षा गर्न सकेन । योभन्दा अर्को दुर्भाग्य केही होला ? यो आजको सबैभन्दा जल्दोबल्दो प्रश्न हो । हिजो राष्ट्रवादको नारा घन्काएपछि जनताले विश्वास गरेर बहुमत दिएका हुन् । तर, उक्त पार्टी जसै सरकारमा गयो, तब उसले राष्ट्रियताको मुद्दालाई गंगामा लगेर सेलाएको छ । र, ऊ शासक मात्र बनेको छ । उसले मुलुकको माया गर्न छाडेको छ । ऊ कुुर्सीमा पुगेपछि सबै आफ्ना मुद्दाहरूलाई बिर्सेको छ । यस्तो अवस्थामा जनताले राजनीतिक दलहरूमाथि शंकाको दृष्टिले हेरेका छन् । मुलुक रहे मात्र आफू सत्तामा रहिन्छ भन्ने कुराको समेत महसुस गर्न नसकेकाहरू आज कुर्सीमा पुग्दा नेपाली जनताले दुःख पाइरहेका छन् । बरु हिजो पञ्चायत शासन कालमा मुलुकको सीमाको सुरक्षा भएको थियो । यसबेला मुलुकमा भ्रष्टाचारजस्तो गलत काममा पनि नियन्त्रण थियो तर आज सबै छोटेराजा बनेका छन् । सबैको धम्की नै ठूलो देखिन्छ ।
सरकारले मिचिएको भूमि र विवादित भूमि फिर्ता ल्याउने कदमसमेत चाल्न सकेको छैन । आफ्नो भूमिको सुरक्षा गर्न नसक्नेहरू आज भाषणमा निक्कै ठूला कुरा गरेर बसेका छन् । सरकारले भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा राखेपछि नेपाल सरकारले कूटनीति पहल थालेको बताए पनि खासमा सरकारले भारतसँग औपचारिक रूपमा वार्ता गर्ने हिम्मत राखेको छैन । आफूले सीमाको कुरा गर्नेबित्तिकै आफू सत्ताबाट ओर्लनुपर्ने डरले काँपिरहेकाहरू आज सत्तामा छन् । देश र जनताको भन्दा आफ्नो कुर्सीको माया गर्ने व्यक्तिहरू सत्तामा रहुन्जेलसम्म नेपालको सुरक्षा नहुने देखिन्छ । आफू सरकारमा जानका लागि पनि छिमेकी मुलुकको आदेश पर्खनेहरू सत्तामा पुग्ने काम भइरहेको छ । जनताको मतले सांसद बन्ने तर छिमेकी मुलुकको इच्छामा चल्ने नेताहरूका कारण मुलुक अघि बढ्ने सम्भावना देखिएको छैन ।
आफ्नो सीमाको रक्षा गर्न नसक्ने तर घरमा बाघ हुने सरकारले अब लजाउनुपर्छ । सरकारले नेपाली भूमि अतिक्रमण सैह्य नहुने भन्दै नेपालको मिचिएको भूमि अरूलाई एक इन्च पनि नछाडिने बताएर जनताको वाहवाही पाए पनि व्यवहारमा भने यस्तो भएको देखिँदैन । भारतसँग सीमाको कुरा गर्ने हिम्मत नै नभएकाहरू आज सरकारमा छन् । भारतसँग ठाडो शीर पारेर बोल्न नसक्ने तर नेपालीका अगाडि निक्कै ठूलो डंका पिट्नेहरू सरकारमा हुन्जेल नेपालीहरूले कहिल्यै पनि आफू सुरक्षित महसुस गर्न सक्ने छैनन् । तराइका नेपालीहरू बिहान उठ्दा विदेशी बन्ने डरले सधैँ पिरोलिरहेको छ । आफ्नो देशको सीमाको सुरक्षा गर्नुभन्दा पनि लैनचौरमा गएर डिनर खानेहरूका कारण मुलुकको सीमा मात्र होइन, जनता पनि सुरक्षित छैनन् । देश र जनताको पक्षमा निर्णय गर्नुभन्दा पहिला छिमेकी मुलुकलाई सोध्ने संस्कारबाट भाग्न नसक्नेहरू जबसम्म सत्तामा रहन्छन् तबसम्म मुलुक सुरक्षित हुने छैन । नेपाली जनताको मतबाट सत्तामा गएको भनेर महसुस गरेर नेपाली भूमि फिर्ता ल्याउनु अहिलेको राष्ट्रवादी सरकारको पहिलो काम हुनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६ ०८:०३