काठमाडौं - काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ ।
आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन मेयर शाहले निर्देशन भए । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको छ ।यसका लागि नगर प्रहरी आजैदेखि खट्नेछन्,’ सचिवालयले भन्यो ।
काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए ।
आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका हुन् । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् ।
बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १७:३७