काठमाडौं– वैदेशिक सहयोगमा निर्माण भएका विभिन्न सडकमा समस्या देखिएको छ । ती सडकहरू निर्माणको छोटो समयमा कालोपत्र उप्कने, खाल्डाखुल्डी पर्नेलगायतका समस्या देखिएको हो । वैदेशिक अनुदान वा ऋण सहयोगमा निर्माण भएका काठमाडौं उपत्यका बाहिरका विभिन्न सडकमा समस्या देखिरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । केही समयअघि मात्र स्थलगत निरीक्षणका क्रममा सुर्खेत–जुम्ला सडकखण्ड पुगेको विकास तथा प्रविधि समितिको टोलीले सो सडक निर्माण भएको छोटो अवधिमै समस्या आएको बताएको थियो । त्यो सडकसँगै बसन्तपुर–मुडे सडकखण्ड, गल्छी स्याफ्रुवेशी, तेह्थुमलगायतका सडकमा समस्या देखिएको महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताएका छन् ।
उनका अनुसार कालोपत्र गरेको केही वर्षपछि नै यी सडकमा समस्या देखिएको पाइएको हो । सडकको डिजाइनदेखि नै समस्या देखिने गरेको जनाइएको छ । उनले भने, ‘डिजाइनमा त्रुटिदेखि निर्माण सामग्रीसम्ममा समस्या पाइएको छ ।’ वैदेशिक सहयोगमा निर्माण हुने सडक आयोजनामध्ये कतिपयमा स्वदेशी तथा कतिपयमा विदेशी निर्माण कम्पनीले काम गरेका छन् ।
निर्माण व्यवसायी स्वदेशी वा विदेशी जेसुकै हुँदा पनि त्यसको नियमन सम्बन्धित वैदेशिक संस्थाले नै गर्ने गरेको छ । नेपालमा ऋण सहयोग र अनुदान सहयोग दुवैमा विभिन्न सडक आयोजना निर्माण भइरहेका छन् । महाशाखाका प्रमुख थापाका अनुसार काठमाडौं उपत्यकामा बनेका वैदेशिक सहयोगका सडकमा भने समस्या पाइएको छैन ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६ ०८:३५