एजेन्सी- स्पेनले क्रोएसियालाई टाइब्रेकरमा पराजित गर्दै आइतबार नेसन्स कपको उपाधि जितेको छ ।
डानी कारभाजलले पेनेन्का पेनाल्टीको मदतले गोल गरेपछि स्पेनले उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगेपछि स्पेन पेनाल्टी सुटआउटमा ५–४ ले विजयी रह्यो ।
स्पेनी गोलरक्षक उनाइ सिमोनले लोभरो मेयर र ब्रुनो पेटकोभिचको पेनाल्टी प्रहारमा बचाउ गरे । त्यसपछि कारभाजालले निर्णायक गोल गरेका हुन् । स्पेनले सन् २०१२ को युरोयता पहिलो उपाधि जितेको हो ।
क्रोएसिया भने फेरि एकपल्ट आफ्नो देशको इतिहासमै पहिलो उपाधि चुम्न असफल रह्यो । सन् २०१८ को विश्वकपको उपविजेता तथा पछिल्लो विश्वकपमा तेस्रो भएको क्रोएसियाले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १०:५७