काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेबीच सोमबार भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडिपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित भएकामा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले नेपाल सन १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै संविधानसभा निर्वाचनदेखि संघीय संसद्लाई गरेको सहयोगप्रति धन्यवाद दिएका थिए । उनले नेपालमा बहुआयामिक सहयोग गरिरहेको युएनडिपीले आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, युएनडिपी प्रतिनिधि लबेले हाल नेपालका विभिन्न २६ क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६ ०८:३९