काठमाडाैं - हुलास स्टील–हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन खुल्ला भएको छ । नेपालको श्रम बजारको प्रमुख चुनौतिहरुलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम अन्तरगत नेपालको लुम्बिनी र मधेश प्रदेशमा तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुलेकाे हो ।
यस कार्यक्रमले ४५,००० नेपालीहरुको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आईरहेको हुलास कम्पनीले जनाएकाे छ । यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेका छन् ।
नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले यस कार्यक्रमकाे साझेदारी गरेका छन् । यस कार्यक्रमले १ हजार ३४८ जनालाई श्रम बजारको माग अनुरुप तालिम र रोजगार दिने भएकाे छ ।
यस तालिम सात दिनको अवधि रहने छ । यो तालिम बिरगंज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम विशेष गरि स्टील/फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र विपन्न वर्गलाई लक्षित गरिएको छ ।
यस तालिममा नेपाली नागरिकता भएका र मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरु सहभागी हुन सक्नेछन् । यो तालिम असार २०८० देखि कार्तिकसम्म लागु गरिने आयाेजकले जनाएकाे छ । आयाेजकका अनुसार यस तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्ने छ।
प्राकृतिक श्रोत र सामाजिक विकासलाई सन्तुलनमा ल्याउँदै समग्र मुलुकको दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको हुलास स्टीलले जनाएकाे छ ।
ईच्छुक र योग्य व्यक्तिहरुले कृपया तल दिएको फारम भर्न सक्नेछन् ।
https://www.jobejee.com/hulas-hipco-steel-fabrication
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०८:०१