मट्याङ्ग्रो, वैकुण्ठ भण्डारी
देशमा संसद् छ । टन्न सांसद पनि छन् । हरेक महिना हाजिर गरेर तलब भत्ता पनि खान्छन् । अरु बेला सभाकक्षमा नगए पनि आफ्नो बोल्ने पालो आउने दिन आफूले पालेका दुई–चार जना पत्रकारसमेत बोकेर संसद् भवन पुग्छन् । रोस्ट्रममा पुगेर भए नभएका कुरा पनि गर्छन् ।
आज छविलालहरु मुठ्ठी कसेर मोर्चाबन्दीमा जुटे । तर, यिनीहरु जुटेर देश र जनताले के पाउँछ ? जनतालाई पत्तै छैन । हिजो यिनीहरु फुट्दा देशलाई के नोक्सानी भयो ? त्यो पनि जनतालाई पत्तै छैन । जे होस् संसदीय व्यवस्थामा मोर्चारुपी मण्डले संस्कृति मौलाएको छ । तिनका लिदी भरिएको दिमागलाई साधुवाद भन्नुपर्छ ।
देश आर्थिक संकटमा छ । भौतिक संकटमा त पहिलेदेखि नै परिरहेको हो । राष्ट्रियता संकट पर्दा जनता जाग्ने गर्दथे ऊ बेला । बैरीसँग खुकुरी तेस्र्याएर लड्न जान्थे । अहिले त त्यस्तो कहाँ हुन्छ र ? एकादेशको कथा जस्तै हो । राष्ट्रियता संकट परोस् कि देश संकटमा परोस् आफू भने कहिल्यै संकटमा पर्नुभएन ! कसको बाउको बिर्ता हो र सके लुट्ने नसके फुट्ने । ‘लेण्डुप’ बन्न के भो र आफ्नो कुरा मिलेपछि ! मान्छेको जिन्दगी मरेपछि के हो के हो ? जे गर्ने हो अहिले नै गर्ने हो ।
समयमा नगरेपछि परिन्छ । त्यही भएर सकेजति अहिले नै गरिन्छ भन्छन् । बाघको अनुहार देखाउने स्यालाहरु !
‘यो संसद् भनेको खसीको टाउको देखाएर बाख्राको मासु बेच्न ठाउँ हो’ कुनैबेला छविलालबाट आएका शब्दजाल यस्तै थिए अरे । आखिर संसद् भनेको खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने ठाउँ भएपछि छविलालहरु किन त्यही पुगेका होलान् ? किन त्यहाँ पुग्नका लागि मरिहत्ते गरेका होलान् ।
आजकल ढिकुरे पोखरीका माइला बाले सोध्ने गर्छन्, ‘हैन ए जेठा पहिले–पहिले छेपारोले रुप फेरेजस्तै नाम फेर्थिस् । आजकल त रुप र विचार नै फेर्न थालिस् त के भाको हो ? ढिकुरे काकाले छविलालसँग कुरा त राखे तर जवाफ भए पो दिनु । घोसेमुण्टो लगाएर बसेको छ, छविलाल । बोल्न पनि आँट नै छैन । ९५ वर्षले खाइसकेका माइला बा बरु टोलै थर्किने आवाजले बोल्न सक्छन्, सोध्न सक्छन् ? किनकि, माइला बालाई ढिकुर पोखरीको निकै मायाले सताउँछ रे ?
त्यही भएर कहिलेकाहीँ ढिकुर पोखरीको पल्ला गाउँमा उत्तरतिरका छिमेकी आएर काल्ला तास्दा माइला काका आँगनको डिलमा बसेर घोक्रो फुट्नेगरी कराउँदै टिलिक्क टल्कने भोजपुरे खुकुरी तेस्र्याउँछन् रे अझै पनि । तर, कहिले कल्याण, कहिले विश्वास र कहिले निर्माणको नाम फेर्दै हिँडेका छविलालले राष्ट्रियता संकट परे पनि लठ्ठी पनि तेस्र्याउने आँट गरेका छैनन् । त्यही भएर आजकल ढिकुरे माइला बाले पत्याउन छाडिसकेँ भन्छन् ।
आजकल खोप्लाङका भट्टराई हुन् कि गौरका ब्राह्मण नेपाल हुन् । कसैलाई पनि राष्ट्रको माया देखिएको छैन । अशोकग्राममा देउवा, साँखेजुंगका खनालर इवा तेह्रथुमका ओलीको त कुरै नगरौं । सत्ताका लागि लिसो जस्तै टाँसिएर बस्छन् । देश बनाउछु, जनताको मन जित्छु भनेर संघर्ष गरेका यी ब्राह्मणहरुले आफूले लगाएको धोती फुस्काएर लंगौटी पो देखाइदिए ।
गोरुलाई धोएर गाई बन्ने भए त यिनीहरुले मज्जाले भारतमा उत्पादन भएको हररर बास्ना आउने स्याम्पुले लेपेर भए पनि धोएर भए पनि गाई बनाइदिन्थे । तर, यी पाँच पाण्डवबाट आश गर्नु नै बेकार छ । ४६ सालसम्म मण्डलेले लुट्नु लुटेका थिए । अहिले यी पाण्डवरुपी मण्डलेहरुले देश नै खोक्रो पारिसके । छिमेकीले सांस्कृतिक हस्तक्षेप गरोस् कि सिमानामा कोदाली लगायोस् चुँसम्म पनि गर्दैनन् । आँट र हिम्मत नभएपछि छेपारोले रङ फेरेजस्तो फेर्न यिनीहरुलाई के फरक पर्छ र ? आफूलाई राजा ठान्ने जनतालाई दास मान्ने प्रवृत्तिबाट उठ्न नसकेर आफ्नै राष्ट्रियतामाथि बडो गज्जवले सामूहिक ‘बलात्कार’ पो गरिरहेका छन् ।
सुस्तादेखि लिम्पियाधुरा पुगोस् कि कपिलवस्तुदेखि मिथिलासम्म माटो धर्धरी रोइरहेको छ । तर, यिनलाई त्यसको माया नै छैन । महाभारतमा कौरवसँग लडेका पाण्डवहरुको इतिहासभन्दा कलियुगका यी पाण्डवले पो इतिहास बनाउलान् जस्तो । आफ्नै धर्तीमाथि धावा बोल्नेसँग अंकमाल गरेर नर्तकीहरुसँग रमाइरहेका छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भन्ने कुरा त यिनीहरुलाई थाहा नै छैन । मातृभूमिमाथि नांगो नाच र बलात्कार हुँदा पनि पाण्डवहरु निरीह भएर दर्शक बनिरहेका छन् । बरु छिमेकीले मातृभूमिमाथि बलात्कार गरिरहँदा व्यक्तिगत स्वार्थमा लागेर सहयोगीको भूमिका पो निर्वाह गरिरहेका छन् ।
ढिकुर पोखरीका माइला बाले त्यसै बनेका हुन् र ? हिजो नाममात्र फेर्थे अहिले त रुप नै फेरे । विचार नै फेरे ।‘म आगो सहन्छु, अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न’ भन्ने कुरालाई भुुसुक्कै बिर्सिसकेका छन् । बरु अहिले त, ‘म आगो सहन्छु, न्याय सहन्न, बलात्कार सहन्छु, राष्ट्रियता सहन्न’ भन्न पो थालिसके छ । कलियुगका पाँच पाण्डवका कारण अहिले फिरंगीहरुले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । सिमाना मिचिरहेका छन् । संस्कृति, सम्पदामाथि बलात्कार गरिहेका छन् । तर पनि फिरंगीको भाङ खाएर दंग परिरहेका छन् ।
फिरंगीहरुको लोभमा फसेर आफ्नै राष्ट्रियतामाथि पटक–पटक बलात्कार गरिरहेका छन् पाण्डवहरुले । मातृभूमिमाथि संकट पर्दा अरु चिज छाडेर भए पनि एक ढिक्का हुनुपर्ने पाण्डवहरु तित्तरवित्तर भएका छन् । आफ्नो गोप्य अंगहरु फिरंगीलाई साटिरहेका छन् र त राष्ट्रियतामाथि आफैंले बलात्कार गरेर रमाइरहेका छन् ।
भ्रष्टाचार रमाउँदै फिरंगीहरुसँगकै मिलेमतोमा देश र जनतालाई बन्धक बनाएर नागरिक बेच्दै राष्ट्रमाथि बलात्कार गर्दै ह्वीस्कीको चुक्कीमा रमाउँदै छन् । सायद यी पाण्डुहरुलाई पुर्खाले त धिक्कार्दै छन् । भावी पुस्तालेसमेत सराप्ने छन् । ‘लेण्डुप’हरुले माटो बेचिरहेका छन्, थाहा छैन कुन दिन देश बेचिदिने छन् । पशुपतिनाथले पक्कै पनि यी लेण्डुपहरुको गोवर भरिएको मथिंगलमा बुद्धि भरिदिने छन् र मात्र महसुस गर्ने छन्– ए हामीले त साँच्चै राष्ट्रियतामाथि पो बलात्कार गरिरहेका रहेछौं ।
समय बितिसकेको छ । न त संसद् भएको महसुस छ ? न त सरकार भएको महसुस गर्न सकिएको छ । अहिले त केवल राष्ट्रियतामाथि भएको बलात्कारको बाछिटामात्र देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०८:११