प्रधानमन्त्री पुष्पकमल दाहालले अन्ततः समाजवादी मोर्चा घोषणा गरेका छन् । दायाबायाँ दुई पूर्वप्रधानमन्त्रीलाई राखेर दाहालले सत्तामा बार्गेनिङ पावर बढाउन राष्ट्रिय सभागृह पुगेर मोर्चाको घोषणा गर्दा हलमा टेक्ने ठाउँ थिएन ।
बिहानै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ठुस्किएपछि दाहाल पूर्वका बाढीग्रस्त क्षेत्र अवलोकन गर्न निस्के । फर्केपछि खनालसँग एकीकृत समाजवादीका माधव नेपाललाई पनि लिएर दाहाल राष्ट्रिय सभागृह पुगे ।
दाहालले मोर्चामा आफ्नै पार्टीबाट चोइटिएर गएका नेत्रविक्रम चन्दलाई पनि अटाएका छन् । डा. बाबुराम भट्टराई आएका भए सत्ताको नेतृत्व गरिसकेका चार जना यो मोर्चामा हुन्थे । तर, भट्टराईलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले रोकेको बताइन्छ ।
नयाँ शक्ति भन्दै ठाउँगाउँ चहारे पनि केही सीप नलागेपछि आफ्नै निर्वाचन क्षेत्र दाहाललाई जिम्मा लगाएका भट्टराईले सायद मोर्चा बनोस् भनेर बाटो खाली गरिदिएका होलान् । केही दिनअघिमात्र गेरुवस्त्र धारण गरेका दाहाल पशुपतिमा पनि पुगे । धार्मिक बनेको केही दिनमै मोर्चा सम्हाल्दै दाहालले देशलाई प्रतिगमनतिर लैजानेविरुद्ध युद्धको घोषणा भएको बताएका छन् ।
दाहाल यस्ता व्यक्ति हुन् जसले आफूलाई अप्ठेरो पर्नेबित्तिकै विभिन्न साना दललाई जुटाएर ‘बार्गेनिङ टुल’ बनाउँछन् । शक्तिहीन बनिसकेका उनका सहयात्रीलाई पंखा हम्काउन पाए पुगिहाल्यो । आइहाल्छन् साथ दिन ।
कांग्रेस सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको प्रमुख शक्ति हुन् । अहिले कांग्रेसका नेताहरुको दौडधुप चर्र्किएको छ । देउवा उपचारका लागि सिंगापुर छन् । देउवाअघि कांग्रेसका नेता डा. शेखर कोइराला पनि सिंगापुर पुगेका थिए । कांग्रेसका नेताहरुले सरकार परिवर्तनको संकेत दिइरहँदा दाहालले मोर्चा घोषणा गरेर आफ्नो ‘ब्यारेक’ बलियो भएको संकेत गरेका हुन् ।
दाहालले आफूलाई कमान्डरको रुपमा घोषणा गर्दा उनका सहयोगीहरु भने खासै बलिया देखिन्नन् । दाहालको एउटै तुक हो– माधव नेपालहरुलाई एमालेमा मिल्न नदिनु । त्यही शक्ति देखाएर केपी शर्मा ओली र शेरबहादुरहरुलाई तर्साइराख्नु । माधव नेपालहरुको आफ्नै विवशता छ, पार्टी जोगाइराख्नु कि आफ्नो साख ।
यही मौकामा दाहालले ताउरमाउर देखाएका हुन् मोर्चाको । जताबाट हेरे पनि मोर्चा ५४ सिटभन्दा बलियो छैन । मोर्चाका अनुहार हेर्ने हो भने जुनसुकै बेला टुटफुट हुने र असन्तुष्टि पोख्नेहरुकै बोलवाला छ । त्यसैले दाहालको यो तरिका ‘नमच्चिने पिङको सय झड्का’झैं बन्ने त हैन ?
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०८:२६