देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा विमानस्थल गत पुस १७ गतेबाट सञ्चालनमा आयो । पोखराबासीको पाँच वर्षदेखिको सपना पूरा भएको भनिए पनि अन्तर्राष्ट्रिय उडान भने त्यतिबेला अनिश्चित नै रह्यो । सञ्चालनमा आएको केही दिनमै माघ १ गते यती एयरको जहाज विमानस्थलमा अवतरण गर्नै लाग्दा सेती खोंचमा खस्यो ।
चालक दलसहित ७२ जना सवार विमान दुर्घटना भएसँगै विमानस्थलको बनावटमाथि प्रश्न उठेको थियो । कुनै पनि घटना हुनेबित्तिकै तुरुन्तै भावनामा बग्न ढिला नगर्ने र ती विषयलाई क्षणभरमै बिर्सने नेपालीको बानी नै हो । अहिले धेरैले यती विमान दुर्घटनाको विषयलाई चटक्कै बिर्सिसकेका छन् ।
बस दुर्घटना भयो भन्दैमा उक्त सडकबाट सवारीसाधन नै सञ्चालन गर्न हुन्न भन्ने हैन । त्यस्तै विमानस्थलमा विमान दुर्घटना भयो भन्दैमा जहाज उडाउनै हुन्न भन्ने पनि हैन । तर, कम्तीमा सुरक्षाको पूर्वतयारीका विषयमा भने सोच्नैपर्ने हुन्छ ।
यस्तै अन्योलताका बीचमा उद्घाटनको करिब छ महिनापछि बुधबार चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको विमान पोखरामा अवतरण भएको छ । अन्तर्राष्ट्रिय नाम दिएको ट महिनापछि बल्ल अन्तर्राष्ट्रिय उडान आइपुग्दा ‘वाटर क्यानन सल्युट’समेत गरियो । यस्तो सल्युट पुस १७ गते पनि गरियो ।
अचम्म लाग्दो कुरा त के रह्यो भने वैशाख ११ गते दुबईका लागि उडेको फ्लाइ दुबईमा समस्या देखिएपछि भारतको लखनउतिर डाइभर्ट भयो विमान । त्रिभुवन विमानस्थलमा ट्राफिक जामको विकल्प नेपालमै पोखरा र भैरहवामा रहेको गौतमबुद्ध गरी दुई अन्तर्राष्ट्रिय विमानस्थल हो । तर, दुबै विमानस्थललाई फ्लाई दुबईले पत्याएन ।
पोखराको के कुरा गर्नु, जजिरा एयरले नियमित उडान थाल्ने भनिएको भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन छाडेपछि जेठ ३० गते मलेसियाबाट नेपाल एयरलायन्सकै उडान त्यहाँ अवतरण भयो । पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको सिचुवान एयरमा पनि चीन घुम्न गएका अधिकांश नेपालीहरु नै थिए । तामझाम जति नै भए पनि पहिलो विषय हो, उड्डयन सुरक्षा । त्यसपछि नियमित उडानका लागि यात्रु ।
नेपाली आकाशलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) अझै असुरक्षित नै मान्छ । अर्को विषय भनेको पर्यटन क्षेत्रको अपडेट । पुरानै संरचनामा पर्यटक आउँदैनन् भन्नेसम्मको जानकारी सत्ताको नेतृत्वलाई थाहा छैन । धार्मिक यात्रुको भरले पर्यटन चल्दैन ।
पर्यटन आउजाउ नभए जहाज उड्दैन । अर्बौं ऋण गरी निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन नसक्नु सरकारको कमजोरी हो । पोखरा र भैरहवा दुवैमा व्यावसायिक उडान सञ्चालनका लागि तत्काल पहल गर्नु सरकारको दायित्व हो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०७:५०