भक्तपुर– भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १६ नगरपालिकाले भाग लिने र सबै तयारी पूरा भएको बताए ।
प्रतियोगितामा भरतपुर महानगरपालिका, घोराही उपमहानगरपालिका, ललितपुर महानगरपालिका, चाँगुनारायण, रामेछाप, कीर्तिपुर, शंखरापुर, मनोहराकागेश्वरी, मध्यपुरथिमी, चौडण्डीगढी, टोखा, भक्तपुर, साँगाचोक चौतारागढी, मन्थली, रत्ननगर, विदुर नगरपालिकाको सहभागिता रहनेछ ।
प्रतियोगितामा फिल्ड इभेन्ट्सअन्तर्गत सटपुट, लङजम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइजम्प, ट्रिपलजम्प र ट्रयाक इभेन्ट्सअन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ किमि (म्याराथुन), २१.०९ किमि (हाफ म्याराथुन) खेल समावेश छन् ।
फिल्ड इभेन्ट्समा प्रथमलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार, तेस्रोलाई रु दुई हजार, ट्रयाकतर्फ प्रथमलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार, तेस्रोलाई रु दुई हजार नगद पुरस्कार दिनेछ । म्याराथुनमा प्रथमलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार तेस्रोलाई रु १० हजार, हाफ म्याराथुनमा प्रथमलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार, तेस्रोलाई रु १० हजार नगद पुरस्कार दिइनेछ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६ ०६:५१