काठमाडौं – तेक्वान्दोकी निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीले ‘एनएनआईपीए सर्वोकृष्ट खेलाडी’ अवार्ड जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ निमा र पुरुषतर्फ विमल सर्वोकृष्ट खेलाडी चुनिएका हुन् ।
एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २८ खेलाडीमध्येबाट निमा र विमल सर्वोत्कृष्ट भएका हुन् । सर्वोकृष्ट चुनिएसँगै निमा र विमलले १÷१ लाख प्राप्त गरे ।
अवार्डमा निमाले तेक्वान्दो र विमल प्याराग्लाइडिङतर्फको उत्कृष्ट खेलाडी अवार्ड समेत जितेका थिए । उत्कृष्ट वापत उनीहरूले १०÷१० हजार प्राप्त गरे । यस्तै भलिबलकी सरस्वती चौधरी र एथलेटिक्सका अजितकुमार यादवले उदयमान खेलाडीको अवार्ड जिते । अवार्डसँगै सरस्वती र अजितले समान ५० हजार रूपैयाँ प्राप्त गरे । सरस्वतीले भलिबल र अजित एथलेटिक्सको उत्कृष्ट खेलाडी अवार्ड समेत जितेका थिए । यस्तै अवार्ड कार्यक्रममा विभिन्न २८ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २८ खेलका प्रत्येक खेलाडीले जनही १०÷१० हजार नगद प्राप्त गरे । पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले जितिन् ।
एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै खेल पत्रकार प्रज्वल ओलीलाई सम्मान गरिएको थियो ।
एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेको हो ।