काठमाडाैं - आगामी चौबिस घन्टामा सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना छ। एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हाे ।
मौसमविद् शान्ती कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै तराईका भूभागहरूमा वर्षा भइरहेको छ। पहाडी भूभागहरुमा गएरातिदेखि पानी परिरहेको छ। यो क्रम अब देशैभरी चल्ने उनले बताइन्।
पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणाली र बाँकी भूभागमा भारतको उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ।
दिउँसो कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
राति कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०७:४४