–मणिराज गौतम
मनहरी- हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन् ।
उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोश जाँगर अझै पनि घटेको छैन । उहाँ अहिले पनि बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुन् ।
खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेशाबाट कमाएको रकमले आफना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गाजमिन जोड्न समेत सफल भएका छन् । इच्छाशक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका रुपमा तिमल्सिनालाई लिन सकिन्छ ।
मकवानपुरको हेटाैँडा उपमहानगरपालिका वडा नं ६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ । अहिले कृष्णप्रसादको बिँडो माहिला छोरा बुहारीले थामेका छन् । “उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ, त्यसैले अहिले पनि सकेसम्म आफैँ अग्रसर हुन्छु”, तिमल्सिना भने ।
पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले यही नाममा यसैको शाखा हेटौँडा बजारमा खोल्नु भएको पनि २३ वर्ष भइसकेको उनी बताउछन् । चुच्चेखोलाको व्यवसाय शुरु गरेको अहिले ४५ वर्ष भयो । जीवनको पूवाद्र्धमा दुःखकष्ट र उकाली ओरालीहरूसँग सङ्घर्ष गर्दागर्दै अन्ततः तिमल्सिनाले खुवा व्यवसायको पहिचान बनाए ।
चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा । तपाई जो कोही जतिबेला पनि चुच्चेखोला पुग्नु भयो भने हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रष्ट देख्न सकिन्छ ।
सुरुमा खुवाको बारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो । दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ । यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको तिमल्सिना बताउनुहुन्छ । यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ ।
गोरेटो बाटो रहेकाले उतिबेला हिँडडुल गर्नेहरुको चहलपहल खासै नभएकाले व्यापारको सुरुआती दिन सम्झिँदा तिमल्सिना भन्छन् , “त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो ।”
आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेशाप्रतिको इमान्दारीतालाई पनि मर्न दिनु भएन भन्दै निरन्तर लागिरहे । मिहेनतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उहाँले यही पेशालाई आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि निरन्तरता दिइरहेका छन् । पहिला प्रतिकेजी रु १५ सम्म खुवा बेचेको उहाँ सम्झनुहुन्छ । अहिले त खुवाको मूल्य प्रतिकेजी सात सय रुपैयाँ पुगेको छ ।
पहिलापहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्द्छन् । खुवाको लागि भैंसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरु आकर्षित भएपछि खुवाको लागि भैँसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ ।
छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उनी बताउछन् । चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ । उनले पसलबाटै प्रतिकेजी सात सय रुपैयाँमा खुवा बेच्नुहुन्छ । यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक लाखौँ रुपैयाँ आम्दानी गरिरहनु भएको उनको भनाइ छ ।
तिमल्सिनाको फरक पेशाले साँच्चै नै व्यावसायिक क्रान्ति छर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ तिमल्सिना । अहिले त हेटौँडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसलहरू छन् ।तिमल्सिना मात्र होइन, यही पेशाबाट उहाँका छिमेकी श्यामकुमार मानन्धरले पनि आफूलाई खुवा व्यवसायीका रुपमा परिचित बनाएका छन् ।
विगत २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आएका छन् । उनी पनि एक सफल खुवा व्यवसायीका रुपमा परिचित छन् । मानन्धरले सञ्चालन गरेको कृष्ण कन्हैया खुवा भण्डार पनि साढे दुई दशक पुग्न थाल्याे ।
उनको भण्डारमा ग्राहकहरुको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ । विसं २०५६ तिरबाट खुवा बनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउँदैनन् । दैनिक १५० लिटर दूध खपत गरेर २० किलोभन्दा बढी खुवा बनाउने गरेको मानन्धर बताए ।
यस स्थानमा लहरै रहेका झण्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन् । स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा वीरगञ्ज, चितवन, जनकपुर काठमाडौंसम्म पुग्ने गरेको बताए । विसं २०५६ बाट खुवा बेच्दै आएका मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी गर्दै आएको बताए ।
खुवा सबैले देख्ने गरी बनाइन्छ, यसको मीठो बास्नाले गर्दा होला कान्तिलोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्दछन् । चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो मानन्धरको पसलमा खुवा खाँदै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने औधेस चौधरीले बताए ।
चौधरीले आफू तराईकोे बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ट भएको प्रतिक्रिया दिए । यस पेशाबाट आफूले घर व्यवहार चलाएको र जग्गा पनि किनेको बताउदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताए ।
उनकाे २४ वर्षदेखिको पेशाप्रतिको मेहनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीको रुपमा गनिन्छन् । मानन्धरसँगै रहेको लक्ष्मीनारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवा व्यवसायबाटै चर्चामा छन् । सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो । यही पेशाबाट सोमनाथले पनि आफनो परिवार धान्दै आयआर्जन गरिरहेका छन् ।
उनको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रुपैयाँ बच्ने गरेको बताए । सोमनाथकोे पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ । दैनिकरुपमा बसमार्फत पोखरामा खुवा पठाउने गरिन्छ । हेटौँडा बाहिरका मिठाइ व्यवसायी र होटलहरुले चुच्चेखोलाको खुवा लैलाने गर्दछन् ।
अहिले भैँसी पाल्ने कृषकहरु घटेका छन् । भैंसीको दूध पाउन मुस्किल छ । पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम बढ्दै आएपछि खुवा व्यवसायीहरुले चनाखो हुन बाध्य हुनुपरेको छ । भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले पनि कृषकहरुले भैंसी पाल्न छाडेको खुवा व्यवसायीहरु बताउँछन् ।
एउटा भैँसीको लगभग लाख रुपैयाँसम्म पर्दछ । किसानले यति ठूलो खर्च गर्न सक्दैनन् । त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण लिएर त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्ने अनि भैंसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्नेले गर्दा खुवा पसलहरु पनि टिकिरहेको देख्न सकिन्छ । दूध खुवा पसलले प्रतिलिटर ९० रुपैयाँमा भैँसीको किन्ने गर्छन् ।
पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ । यो पेशामा आकर्षित हुनेहरुको सङ्ख्या पनि बढिरहेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले केही खुवा व्यवसायीहरुका लागि उपमहानगरले खुवा घोट्ने मेसिन अनुदान दिएको बताए । खुवा घोट्न हात चलाइरहनुपर्ने भएकाले सहजताको लागि उपमहानगरले पछिल्लो प्रविधिको मेशिन दिएको उनले बताए ।
उनका अनुसार यो व्यवसायीलाई थप अनुदान कसरी के प्रक्रियाले दिन सकिन्छ कार्यपालिकाको बैठकबाट निर्णय गरी वार्षिक योजनामा लगेर अनुदान दिन आफूहरु लागि पर्ने बताए । उपमहानगरले चुच्चेखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइछ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० २०:५१