काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका हुन् । उनको विकेट बिक्रमजित सिंहले लिए । सिंहले आरिफलाई ६ रनमा भान विकद्वारा क्याच गराए ।
त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशलको विकेट बिक्रमजित सिंहले लिए । सिंहले कुशललाई २७ रनमा विकेटकिपर एडवार्डसद्वारा क्याच गराएका थिए । कुशलले ४२ बलको सामना गरी दुई चौका हिर्काए । दोस्रो विकेट खस्दा नेपालले १४.५ ओभरमा ४६ रन बनाएको थियो ।
त्यसअघि नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट नेदरल्यान्ड्सका बलर लोगन भान विकले लिएका हुन् । आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २.२ ओभरमा सात रन बनाएर खेल्दै थियो । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १४:१७