काठमाडौं– रंग सारथी र शैली थिएटरको संयुक्त प्रस्तुति नाटक ‘सेतो कपाल’ रातोपुलस्थित शैली थिएटरमा मञ्चन भइरहेको छ । यो नाटक करिब १० बर्षपछि पुनः मञ्चन भएको हो ।
बरिष्ट प्रयोगवादी नाटककार, लेखक तथा निर्देशक विजय विष्फोटद्वारा लेखन र निर्देशन गरिएको उक्त नाटक यसअघि आरोहण गुरुकुलमा मञ्चन भएको थियो । डार्क कमेडी जनरामा प्रस्तुत गरिएको नाटक सेतो कपाल आर्थिक दृष्टिले अत्यन्तै जोखिमपूर्ण नाट्यकर्मलाई आफ्नो जीवनको सर्वाधिक उपलब्धि ठानी त्यसैभित्र रमाउन अभ्यस्त एक नाटककारको जीवनीमा आधारित छ ।
नाटकमा पूर्वाभ्यासका निम्ति चारित्रिक अभिनयका लागि मञ्चमा उत्रिएको नायक कुमार अग्नि अचानक कथामा उल्लेखित नाटककारको चरित्रलाई बिर्सेर स्वयंमले बिताइरहेको वास्तविक जीवनमा प्रवेश गर्न पुग्छ । यहाँबाट नाटकले नयाँ मोड लिन्छ । कुमारले आफ्नो बाल्य र युवा अवस्था, हजुरबाको यौन मनोविज्ञान, आफ्नो असफल पहिलो प्रेम र दोस्रो प्रेमपश्चात अर्धांगिनी बनेकी सिमलसँगको तनावयुक्त पारिवारिक सम्बन्ध आदिलाई सम्झिँदै आफ्नो दमित रहर, तिर्खा यौनकुण्ठा तथा अभावग्रस्त जीवनको आक्रोश व्यहोर्दै साइकोप्याथ नामक मानसिक रोगबाट ग्रसित भएर आत्महत्याको निर्णयमा पुग्दछ ।
फरक शैलीको नाटक तयार पार्न सिपालु नाटककार विष्फोटले भागवत टोलमा भोलाराम, माउजंग बाबुसाहेबको कोटसँगै सेतो कपालमा पनि आफ्नो पृथक एक्सपेरिमेन्ट गरेका छन् ।
प्रस्तुत नाटकमा नाट्य कलाकार शेर शाही, पुस्कर दाहाल, सुरेन्द्र क्षेत्री, ज्योति राई, बालकृष्ण रिजाल, निमा पाण्डे, सदीन लुइँटेल, रबिन तामाङ, कुमार जोशी, नोरचेन लामा, रिया चौधरी, करिश्मा केसी, मिरा केसीको अभिनय गरिहेका छन् । यो नाटक १७ फागुनसम्म मञ्चन हुनेछ ।