काठमाडौं (प्रसं)– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगमा नयाँ पदाधिकारी आएपछि मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष युवराज सुवेदीले व्यक्ति बेपत्ता भएकाले सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरे ।
‘२०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म भएको घटनामा बेपत्ता व्यक्तिका कारण कसैको जग्गा रोक्का भएको छ, त्यसमा केही समस्या भएमा आयोगमा सम्पर्क गर्नुस, आयोगले सहयोग गर्छ’ अध्यक्ष सुवेदीले भने । आयोगमा सो अवधिमा बेपत्ता पारिएका व्यक्तिको दुई हजार ५०६ उजुरी परेको छ । उजुरीउपर अघिल्लो पदाधिकारीले ६४ जिल्लाको विस्तृत अध्ययन सकेको थियो भने ११ जिल्लामा अध्ययन बाँकी छ । ९ महिनाको रिक्ततापछि आयोगमा पदाधिकारी नियुक्ति भएको छ । गत चैत मसान्तबाट नै पदाधिकारीको समय सकिएको थियो तर पदाधिकारी सिफारिस समितिले गत माघ ४ गते आयोगमा पदाधिकारी सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६ ०८:३८