गलकोट–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वर्षमा गण्डकी प्रदेशका सबै खोलामा मोटरेबल पुल बनिसक्ने दाबी गरेका छन् ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको बिँहु–भिमापोखरा जोड्ने गरी डुँडियाखोलामाथि निर्माण थालिएको लामाबगर मोटरेवेल पुलको शिलान्यास गर्दै उनले यस्तो दाबी गरेका हुन् । त्यस्तै उनले आगामी तीन वर्षमा गण्डकी प्रदेशका सबै घरमा ‘एक घर एक धारा’ पुर्याउने पनि बताए । गण्डकी प्रदेशका स्थानिय अब अँध्यारोमा बस्न बाध्य नहुने भन्दै हरेक घरमा विद्युतको केन्द्रीय प्रशारणलाइन पुर्याउने बताए ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले विगतमा ठेकेदारको लापरवाहीले धेरै निर्माणकार्य अलपत्र भए पनि अहिले प्रदेश सरकारको कारण त्यस्तो नभएको बताए । उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्न थालेका हरेक आयोजनाका ठेकेदारले सरकारको अपेक्षा अनुसार काम गर्न थालेको बताउँदै ठेकेदारले काम गर्ने वातावरण बल्ल तयार भएको बताए । उनले ठेकेदारलाई काम अलपत्र पारेर जाने छुट नभएको जनाउँदै जनताले नै निर्माण कार्यको खबरदारी गर्नुपर्ने सुझाव दिए ।
गण्डकी प्रदेश सरकार आएपछि अलपत्र अवस्थामा रहेका धेरै पुलहरू निर्माण सम्पन्न भएको भन्दै मुख्यमन्त्री गुरुङले अबको तीन वर्षभित्र प्रदेशमा १३० वटा मोटरेवल पुल निर्माण गरिसक्ने जानकारी गराए ।
उनले स्थानीय र प्रदेश सरकारको कल्पना गरेको संघीयताले विकासको मूल घर–घरमा पुर्याएको उनको भनाई थियो । प्रदेश सरकारको बजेटमा निर्माण थालेको उक्त मोटरेबल पुल निर्माण सम्पन्नपछि १२ महिनै यातायातका साधन सञ्चालनमा आउने विश्वास व्यक्त गरे । आठ मिटर चौडाई र ३० मिटर लम्बाइरहेको उक्त मोटरेवल पुलको २०७७ साल माघ २५ गते भित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ साल साउन २५ गते एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनी ललितपुरले निर्माणको जिम्मा लिएको छ । सिङ्गल स्पान मोडेलमा निर्माण हुन लागेको पुल तीन करोड ३१ लाख ६३ हजार ६७९ मा निर्माण गर्ने जिम्मा दिईएको छ ।
उनले गण्डकी प्रदेश ८३ हजार गरिब परिवारलाई लक्षित गरी आगामी वर्षदेखि गरिबी न्यूनीकरण कार्यक्रम ल्याउन लागेको बताए ।