काठमाडौं– मिडिया नेपालका काठमाडौं उपत्यका संयोजकमा फोटो पत्रकार दिपेश राजथारु चयन भएका छन् । पर्यटकीय नगरी पोखरामा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निटक पत्रकारहरूको संगठन मिडिया नेपालको केन्द्रीय कार्यसमितिको पूर्णकालिन बैठकले फोटो पत्रकार राजथारुलाई उपत्यका संयोजक चयन गर्ने निर्णय गरेको हो ।
करिब दु्ई दशकदेखि विभिन्न सञ्चारमाध्यममा फोटो पत्रकारितामार्फत देश र समाजका लागि सक्रिय राजथारुले उपत्यका संयोजकको जिम्मेवारी वहनसँगै भने, ‘मिडिया नेपालको उपत्यका संयोजक भएको नाताले आम पत्रकारिता क्षेत्रको हित र श्रमजिवी पत्रकारका लागि आवाज उठाउने प्रयत्न गर्नेछु ।’
साथै, उक्त बैठकले प्रदेश नं ५ का उपाध्यक्षमा श्रीधर सुबेदी, कर्णाली प्रदेशका लागि उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी चयन गरेको छ । यस्तै केन्द्रीय सदस्यहरूमा रञ्जित प्रसाइँ (झापा), विजय राउत (सुनसरी) र सविता पोखरेल (गोरखा)लाई मनोनयन गरेको छ ।
बैठकले २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकारलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गर्ने निर्णय गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा सम्पन्न बैठकले श्रमजीवि पत्रकारहरूको लगनशिलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ । यस्तै, बैठकले वर्तमान अवस्थामा श्रमजिवि पत्रकारहरूका लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई व्यवहारमा तत्काल लागु गरि समयमा उपलब्ध गराउन सञ्चार गृहहरूलाई आग्रह गर्ने निर्णय गरेको छ ।