डोटी – डोटीको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ ।
जोरायलको सरस्वतीनगरको प्राथमिक स्वास्थ्य केन्द्र र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखाडा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्य्याको अस्पताल निर्माण गरिनेछ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ शय्याको अस्पताल निर्माण गरिनेछ । १५ शय्याका अस्पताल बन्ने भएपछि जोरायल र बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी हर्षित भएको एक स्थानीयवासी बमबहादुर बमले बताए ।
यस अस्पताल निर्माणका लागि नेपाल सरकार र स्थानीय तह दुबैको लगानी रहने बताइएको छ । यस कार्यक्रमलाई सफल ढंगले लागु गर्न विभिन्न मन्त्रालयको राय एवं परामर्शपछि कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइनेछ । यस व्यवस्थाको कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकारभित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई १५ र २५ शय्याको अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयमा निवेदन पेश गरेका थिए ।
एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट स्तरोन्नतिका लागि सिफारिस आएका स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६ १०:४६