बर्खायाम सुरु भएसँगै संक्रामक रोगहरू फैलिँदो क्रममा छ । देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा संक्रामकमध्येमै पर्ने डेंगुको प्रकोप तीव्र गतिमा फैलिरहेको छ ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्ला दुई सातामा डेंगु संक्रमितहरूको भीड लाग्न थालेको छ । प्रतिष्ठानको माइक्रोबायोलोजी प्रयोगशालामा गरिएको परीक्षणमा १०० जनाभन्दा बढीमा डेंगु पोजिटिभ देखिएको विवरण सार्वजनिक भइसकेको छ ।
कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभामामात्रै १८ जना बिरामी डेंगु संक्रमित छन् । झापा, मोरङ र सुनसरीमा संक्रमण फैलिँदो छ । धनकुटा, पाँचथरलगायत पहाडी जिल्लामा पनि संक्रमितहरू देखिएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । चार वर्षअघि धरानमा १० हजार मानिस डेंगु संक्रमित भएका थिए । यस वर्ष पनि तीव्र गतिमा संक्रमण फैलिरहेका कारण फेरि नदोहोरिएला भन्न सकिन्न । त्यही भएर स्थानीय, प्रदेश र संघीय सरकारले नियन्त्रण, रोकथाम र सचेतनासम्बन्धी कदम छिटो अघि बढाउनुपर्छ ।
किनभने जनस्वास्थ्यविद्हरूका अनुसार डेंगु संक्रमण नियन्त्रणबाहिर जान पनि सक्छ । चार वर्षअघि धरानमा नियन्त्रणबाहिर गएको थियो । अर्थात् स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने स्थिति सिर्जना भएको थियो । यसपटक पनि डेंगु संक्रमणको दर हेर्दा फेरि त्यस्तै अवस्था त आउने होइन ? ढुक्क हुने अवस्था छैन ।
गत पुसदेखि फागुनसम्म कोशीका विभिन्न जिल्लामा १७ जनामा मात्रै डेंगु संक्रमण देखिएको थियो । जेठ २१ देखि २७ सम्म भने ३२ जनाको स्वास्थ्य परीक्षणमा पाँच जनामा र जेठ २८ देखि असार १ सम्म ४५ जनाको जाँच गर्दा १९ जनामा डेंगु संक्रमण देखिएकै प्रतिष्ठानको तथ्यांक छ । यी तथ्यांकहरूले डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको देखाउँछ ।
यसले गर्दा डेंगुको सेरोटाइप छिटो गर्नुपर्ने देखिएको छ । सम्भावित संक्रमितहरूको परीक्षण गर्ने किटको पर्याप्त व्यवस्था गर्न विलम्ब गर्नुहुँदैन ।
सर्वसाधारणलाई पनि संक्रमणबाट जोगिन सचेतना जगाउनुपर्छ । घरवरिपरिको सरसफाइ गर्दै लामखुट्टेको लार्भा र प्युपा नष्ट गराउनुपर्छ । डेंगु संक्रमण गराउने एडिस एजिम्टाई जातिको पोथी मच्छरले जमेको सफा पानीमा फुल पार्ने हुनाले विषादी प्रयोग गरेर नष्ट गराउन स्थानीय स्वास्थ्य संस्थाहरूले सर्वसाधारणहरूलाई जागृत गराउनुपर्छ ।
यसो गरिए केही हदसम्म डेंगु नियन्त्रणमा आउन सक्छ । होइन, भने महामारीको रुप नलेला भन्न सकिन्न । यसप्रति तीन तहकै सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ०७:४९