काठमाडौं- रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप ८५ जना नेपाली कामदारले ‘एक्जिट भिसा’ (वहिगर्मन) पाएका छन् । साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका ८५ जनालाई एक्जिट भिसा दिइएको हो ।
एक्जिट भिसा प्राप्त गरेका व्यक्तिहरुले जतिसक्दो चाँडो साउदी छोड्नुपर्ने रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ । एक्जिट भिसा प्राप्त हुने कामदारहरुमा इकामा नभएका ५२ जना छन् भने हुरुब लागेका ३३ जना रहेका छन् ।
यसरी हुरुब लागेका र इकामा नभएका नेपालीहरुलाई यथाशीघ्र साउदी छोड्न जानकारी दिँदै समयमै एक्जिट भिसाको म्याद हेर्न पनि दूतावासले आग्रह गरेको छ । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत एक हलाला पनि कहीँ कतै बुझाउनु नपर्ने दूतावासले जनाएको छ ।
तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।दूतावासले इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने प्रस्ट पारेको छ ।
त्यसैगरी, कुनै केस वा जरिवाना छ भने त्यसको छिनोफानो नभएसम्म एक्जिट भिसा नलाग्ने र भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन कार्यालयसँग मात्रै हुने दूतावासले प्रस्ट पारेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ०७:५६