आज असार १५ । आजकै दिनलाई नेपालमा राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिन्छ । यस दिनलाई रोपाइँ जात्राका रुपमा पनि मनाउने गरिन्छ । खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने गरिन्छ । सँगै, दही चिउरा खाने प्रचलन पनि नेपाली समाजमा स्थापित छ ।
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । खेतीपातीमा संलग्न नभएकाहरुले पनि आज दही चिउरा खाएर असार १५ मनाउने गरेका छन् ।
‘मानो रोपेर मुरी फलाउने’ महिनाको रुपमा मानिन्छ असार महिना ।
त्यसैले यो महिना कृषकका लागि अति नै महŒवपूर्ण महिनाको रुपमा रहेको छ । यसै महिनाको मध्य दिन आज धान दिवस मनाउने गरिएको हो । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिन्छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । तर, पछिल्लो समय धानको उत्पादन क्षेत्र क्रमशः घट्दै गएको छ । रोपाइँ गर्ने जमिन प्लटिङ गरी बेचविखन गर्ने क्रम बढ्दा उत्पादन क्षेत्र घट्दै गएको हो । अर्कोतर्फ, सरकारले कृषिलाई प्राथमिकता दिने नीति लिए पनि व्यवहारमा त्यस्तो देखिएको छैन । कृषकले हरेक वर्ष रोपाइँको मुख्य समयमा नै मल तथा सिँचाइका लागि पानीको अभाव खेप्नुपरिरहेको छ ।
अधिकांश क्षेत्रमा आकाशेपानीको भरमा रोपाइँ गरिँदै आएको छ । त्यसैले समयमा पानी नपरिदिँदा रोपाइँ गर्न पाउँदैन । यस वर्ष पनि मुलुकको पूर्वीभागमा पानी परेर समयमै रोपाइँ गर्न पाए पनि पश्चिम क्षेत्रमा पानी नपर्दा समस्या भएको छ । रोपाइँ गर्ने बेलामा आकाशेपानीबाहेक सिँचाइको व्यवस्था नहुँदा किसानले वर्सेनि समस्या बेहोर्नु परिरहेको छ ।
सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा प्रत्येक वर्ष यो सिजनमा कृषकले सास्ती बेहोर्नुपरिरहेको छ । वर्षौंदेखिको यो समस्या कुनै पनि सरकार आए पनि समाधान हुन सकेको छैन । यसपटक पनि कृषकहरुले मलको अभाव भोग्नुपरिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने मल अभाव हुन नदिएको दाबी गरेका छन् ।
उनले संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मलको अभाव हुन नदिन पर्याप्त व्यवस्था गरेको दाबी गरेका हुन् । तर, उनको दाबीअनुसार कृषकले मल पाएका छैनन् ।
कृषिप्रधान देश भनिए पनि कृषिमा पर्याप्त लगानी गर्न नसक्दा मुलुकले ठूलो मात्रामा कृषिवस्तु आयात गरिरहेको छ । धानको पनि अवस्था उही छ । स्वदेशमा उत्पादन बढाउन सके मुलुकबाट बाहिरिने ठूलो रकम जोगिने निश्चित छ ।
सरकारले धान उत्पादन बढाउने हो भने माथि उल्लिखित समस्याहरुको सम्बोधन गर्न जरुरी छ । अनिमात्र धान दिवसले सार्थकता पाउनेछ । राष्ट्रिय धान दिवसको शुभकामना !
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १०:५३