काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको दुनै अवस्थित मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त समितिलाई नगद रु. पचास हजारको आर्थिक सहयोग प्रदान गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो । यस समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपाङ्ग छात्रछात्रााई शिक्षा दिँदै आएको जनाइएको छ । बैंकले प्रदान गरेको उक्त सहयोगबाट विद्यार्थीहरूलाई ओढ्ने तथा ओछयाउने लुगाहरूको खरिद गर्ने कुरा समितिले जनाएको छ । बैंकले हाल ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट सेवा दिँदै आएको जनाएको छ ।