काठमाडाैं - नेकपा एमाले नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार पनि कोशीमा ढलेको छ। सरकार जोगाउन आवश्यक पर्ने ४७ मत जुटाउन नसकेकाले एमाले नेतृत्वको सरकार विफल हुन पुगेको हो।
प्रदेश सभाबाट विश्वासको मत पाउन विफल भएसँगै मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएका छन्। प्रदेश सभाको तेस्रो अधिवेशनमा अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत थप्ने मुख्यमन्त्री कार्कीको प्रयास विफल बनेसँगै मुलुकको दोस्रो ठूलो दल एमाले संघ र सात वटै प्रदेशमा विपक्षमा धकेलिएको हाे ।
मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा सरकारलाई विश्वास छ भन्ने पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको थियो। तटस्थ रहेको जसपाकी एक्ली सासद निर्मला लिम्बू अनुपस्थित थिइन्।
सदनलाई जानकारी दिँदा मत विभाजनको परिणाममा सभामुख बाबुराम गौतमले विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको घोषणा गरेका थिए।
सरकारको नेतृत्वकर्ता एमालेका ४० र सत्ता साझेदार राप्रपाका ६ जनाले पक्षमा मतदान गर्दा पक्षमा ४६ मात्रै पुगेको हो। ९३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्द गर्न ४७ मत आवश्यक पर्छ। आजको प्रदेश सभा बैठकमा ८९ जना सांसद उपस्थित भएका थिए।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १४:५६