काठमाडौं- सूर्यविनायक नगरपालिका-८ सिपाडोल नैचालस्थित ऐतिहासिक बुकाचो गढीमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माण गरिएको छ ।
नेपाली सेनाको इन्द्र बक्स गणद्वारा आज आयोजित कार्यक्रममा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य किरण थापा र नेपाली सेनाका उपरथी सागरबहादुर थापाले संयुक्तरूपमा उक्त गढीको उद्घाटन तथा सालिकको अनावरण गरे ।
नेपाल एकीकरण गर्ने क्रममा भक्तपुर आक्रमण गरी विजयी हासिल गर्दा पृथ्वीनारायण शाहले बुकाचो गढीमा बङ्कर बनाएर बसेको क्षेत्रमा नेपाली सेनाको ५० लाख र सूर्यविनायक नगरपालिकाको २० लाखको लागतमा सालिक निर्माण गरिएको हो ।
शाहको छ फिट उचाइको पित्तलबाट निर्मित सालिक, बङ्कर क्षेत्रमा दुई कोठासहितको भवन, कम्पाउन्डलगायत संरचना निर्माण गरिएका छन । प्रदेश सभा सदस्य थापाले भक्तपुरको पर्यटकीय क्षेत्रका रूपमा पहिचान बनाएको यस क्षेत्रमा परम्परागत शैलीमा बिन्दवासिनी मन्दिर निर्माण भइरहेको बताए ।
नेपाली सेनाको २५ लाखको लागतमा यसअघि यहाँ भ्यू टावर निर्माण सम्पन्न भइसकेको छ । उनका अनुसार नगरपालिकाले यस क्षेत्रमा पिकनिक स्पोर्ट, शौचालय र पानी ट्यांकी निर्माण गर्नुका साथै भ्यू टावर निर्माण गरेपछि भ्यू टावरबाट हिमाली दृश्यसहित उपत्यका हेर्न र गढीको अवलोकन गर्न उपत्यकालगायत विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन ।
सांसद थापाले भक्तपुरको जगातीबाट सात किलोमिटरमा पुग्न सकिने दुई हजार एक सय मिटर उचाइमा रहेको गढीबाट उपत्यकाको मनोरम दृश्यहरु देख्न सकिने, यहाँबाट जंगलका हरियाली दृश्यावलोकन गर्न सकिने, वन्यजन्तु एवम् चराको अवलोकन गर्न सकिने तथा माछापुच्छ्रे, गणेश, गौरीशंकर, सगरमाथालगायत हिमालको अवलोकन गर्न सकिने बताए ।
उनले गढीको संरक्षण र संवर्द्धन जनप्रतिनिधिहरूले गर्नुपर्नेमा जोड दिँदै यसलाई भक्तपुरकै मुख्य पर्यटकका रूपमा विकास गर्नुपर्ने जनाए ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८० १५:३८