काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताबाट नयाँ विजेताका रूपमा मच्छिन्द्र युवा क्लबलाई पाएको छ । त्यसपछि एन्फाले ‘बी’ डिभिजनको प्रतियोगिताको घोषणा गरेको छ ।
एन्फाले फागुनको दोस्रो सातादेखि शुरु हुने जनाएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने र प्रतियोगिता चैत २३ गते सम्पन्न हुनेछ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा एक टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ भने एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
लिगमा श्रीकुमारी, ब्वाइज युनियन, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एशोसियशन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।