बेनी – साविक विजेता एपीएफ क्लब चौथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पर्वतको बेनीमा बुधबार भएको रोमान्चक खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–२१ ले गुमाएको थियो । तर, दोस्रो सेट २५–१७ ले जित्दै एपीएफ खेलमा फर्कियो । तेस्रो सेट पुनः आर्मीले २५–१९ ले आफ्नो बनायो ।
त्यसपछिका दुई सेट भने लगातार जित्दै एपीएफले रोमान्चक जित निकाल्यो । चौंथो सेटमा २५–९ को जित निकालेको एपीएफले अन्तिम सेट १५–९ ले आफ्नो बनायो । जितसँगै एपीएफ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । एपीएफले ३ अंक जोड्यो ।
पराजित आर्मी पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यस समूहमा मात्र दुई टिम रहेको कारण एपीएफसँगै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । अब एपीएफले समूह ‘बी’ को विजेता र आर्मीले उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ मा न्यु डाईमण्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र आयोजक रेडियो दिदीबहिनी रहेका छन् । समूह ‘बी’ को पहिलो खेलमा न्यु डाईमण्डले आयोजकलाई ३–० को सोझो सेटमा पराजित गर्याे ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ ०७:२३