काठमाडौं– ट्विटरका मालिक एलन मस्कले ट्विटरमा ट्विटको सङ्ख्या सीमित गर्ने घोषणा गरेका छन् । मस्कले शनिबार विभिन्न ट्विटमा अब अनभेरिफाईड अकाउन्टबाट एक दिनमा बढीमा १ हजार पोस्ट मात्र पढ्न सकिने बताएका हुन्। नयाँ अप्रमाणित खाताको हकमा भने यो सीमा ५०० मात्र हुने भनिएको छ ।
यस्तै, प्रमाणित खाताको मामलामा, एक दिनमा अधिकतम १० हजार पोस्टहरू पढ्न सकिनेछ । सबैभन्दा पहिला गरिएको ट्विटमा उनले ‘डेटा स्क्र्यापिङ’ र ‘सिस्टम म्यानिपुलेसन’ को बढ्दो स्तरको समस्या हल गर्नका लागि आफूहरूले निम्न ‘अस्थायी सीमा’ लागू गरेको बताएका छन् ।
उनले भने, ‘अब भेरिफाइड अकाउन्टबाट हरेक दिन ६ हजार पोस्ट मात्रै पढ्न सकिन्छ । अनभेरिफाइड अकाउन्टको मामिलामा यो सीमा ६०० पोस्ट प्रतिदिनसम्म सीमित छन् । नयाँ अनभेरिफाइड अकाउन्टको मामिलामा यो सीमा ३०० पोस्ट प्रतिदिनसम्म सीमित छ ।’
मस्कले त्यसपछि अर्को ट्विटमा यी तीन वटै आँकडा फेरिदिए । उनका अनुसार यो आँकडा क्रमशः ८,०००, ८०० र ४०० हुनेछन् ।
यद्यपि, अर्को ट्विटमा उनले यसको सीमालाई पुनः फेरेर यसलाई १० हजार, एक हजार र ५०० बनाइदिए ।