काबुल– अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी)ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीइओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् ।
उनले आफूले जीत हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा ‘समावेशी सरकार’ गठन गर्ने बताएको छ ।
आइइसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गरेको उल्लेख छ । कूल खसेको मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गर्नुभएको टोलो समाचार समितिले जनाएको छ । अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय ‘अवैधानिक’ रहेको र त्यो स्वीकार्य नरहेको बताए ।
उनले चुनावी नतीजा प्रजातन्त्रको विरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए । ‘यो राष्ट्रद्रोह हो,’ अब्दुल्लाहले भने ।
उनले स्वतन्त्र र स्वच्छ मतदानमा आफू विजयी रहेको दाबी गर्दै भने, हामी हाम्रो ‘जीत’ घोषणा गर्छौं । उनले आफूले समावेशी सरकार गठनको घोषणा गर्ने बताए ।
गत वर्ष सेप्टेम्बरको चुनावमा तालिबानले यस प्रक्रियालाई अवरुद्ध पार्ने धम्कीका बीचमा सम्पन्न भएको थियो । तालिबान समूहले राष्ट्रपतिको चुनावलाई बहिस्कार गरेका थिए । (रासस÷एएनआई)
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ ०७:३८