काठमाडौं– फिल्म ‘धुलो’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रूपमा कार्यरत सञ्चारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको यो फिल्म १६ फागुनमा प्रदर्शन हुँदैछ ।
राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तविक जीवनशैली, सपना, संघर्षलाई आधार बनाएर निर्माण गरिएको ‘धुलो’मा बुद्धि तामाङ, अग्रज केसी, सिर्जना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकारको मुख्य अभिनय छ । फिल्ममा नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरूबाट प्रेरित भएको बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए ।
अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनिक नभइ यथार्थ जीवनका कथामा बुनिएको बताए भने अभिनेत्री सिर्जना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।
निर्माता संघका अध्यक्ष अधिकारीले आफूले केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउँदै फिल्म राम्रो बिषयबस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा बिश्वस्त रहेको सुनाए । कार्यक्रममा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, ‘धुलो’का गीतकार केशब मिश्र, गायक युवराज चौलागाई, प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।
दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् ।