काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा विनोद पौडेल निर्देशित ‘बुलबुल’ले डबल हयाट्रिक गरेको छ । राजधानीमा पाँच दिनसम्म चलेको फेस्टिभलमा ‘बुलबुल’ले नेपाल पनोरमाको फिचरतर्फ उत्कृष्ट सिनेमा, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री जुरी अवार्ड पुरुष र महिला गरी ६ वटा अवार्ड जितेको हो ।
उक्त फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका थिए भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् । त्यस्तै, अभिनयतर्फ जुरी अवार्ड पुरुषबाट मुकुन भूषालले अवार्ड पाए भने महिलातर्फ लक्ष्मी बर्देवाले सोही फिल्मबाट अवार्ड पाइन् ।
यस्तै, दिपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ले तीन अवार्ड हात पारेको छ । यो फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पाएको छ भने बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । सोही फिल्मबाट शेलेन्द्र डि कार्कीको छायाङ्कनतर्फ अवार्ड पाए । बलिउड निर्देशक प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट फिल्म छानेको थियो ।
कार्यक्रममा नेपाली सर्टफिल्मतर्फ जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ले पाएको छ भने इन्टरनेशनल तर्फ जुरी मेन्सन अवार्ड युक्रेनको फिल्म ‘अन्ना’ले पाएको थियो । नेपाली सर्टफिल्मतर्फ प्रविनकुमार राउत निर्देशित ‘कलम’ले अवार्ड जितेको छ । प्रविन स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका थिए । सर्टफिल्मतर्फ नै जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दि अदर’ले जितेको छ ।
बहुपतिप्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ठ ठहरिएको छ भने माउन्ट एभरेस्ट अवार्डसँगै फिल्मले १ हजार अमेरिकी डलर हात पारेको छ । यसै वर्षबाट थपिएको एनिमेटेड विधामा चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ले अवार्ड पाएको छ । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ ।
अन्तर्राष्ट्रिय सर्टफिल्मको विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट मानिएको थियो भने बागमती अवार्ड नाम दिइएको यो पुरस्कारको राशि ५ सय अमेरिकी डलर रहेको छ । कार्यक्रममा सबैभन्दा ठूलो पुरस्कार ‘गौतम बुद्ध अवार्ड’ टर्कीको ‘ट्रयाप’ले पाएको छ । यस फिल्मले १५ सय अमेरिकी डलर हात पारेको छ ।