नेपाली राजनीतिक दलहरूका कारण लोकतन्त्रको परिभाषा अब अरु खोतल्नु परेको छ । लोकतन्त्र भन्नेबित्तिकै विधिको शासनका रूपमा लिइन्छ तर नेपालमा भने राजनीतिक दलहरूले लोकतन्त्रलाई आफू र आफ्नो आसेपासेलाई मात्र पदमा पुर्याउने हतियारका रूपमा प्रयोग गरिरहेका छन् । आफू र आफ्नो आसेपासेलाई मात्र पदमा पुर्याउने हो भने मुलुकमा गणतन्त्रको आवश्यकता थिएन । हिजो राजाले आफूखुसी शासन सत्ता सञ्चालन गर्याे र मुुलुकको ढुकुटीमा मनोमालिन्य गर्याे भनेर नेताहरूले जनतालाई उठाएका हुन् । आफूले तिरेको करलाई दुरूपयोग गरेको थाहा दिने तिनै नेताहरू थिए । तर, आज तिनै नेताहरू राज्य सञ्चालनको तहमा पुगेका छन् । तर, उनीहरूले आफूलाई छाटेराजाका रूपमा प्रस्तुत गर्दै मुलुकलाई आफूखुसी सञ्चालन गरेका छन् । जनताको मत पाएर सत्तामा पुग्ने र तिनै जनताले छाक काटेर तिरेको करलाई नेताहरूले भागबन्डा गरेर उपभोग गरिरहेका छन् ।
सत्तामा बसेर मुलुकको राजकीय सत्तालाई नेताहरूले आफ्ना र आफ्ना आसेपासेको चित्त बुझाउने काममा प्रयोग गरेका छन् । सत्तारुढ दलभित्र जस्ले विद्रोह गर्न खोज्छ, उसको चित्त बुझाउनका लागि राज्यको महत्वपूर्ण पद दिने काम नेताहरूले गरिरहेका छन् । जनताले तिरेको करलाई आसेपासेको चित्त बुझाउने गरी प्रयोग हुने काम लोकतन्त्रमा मान्य हुँदैन । लोकतन्त्रको उपहास गर्दै सत्तामा बसेको फाइदा उठाउने काम लोकतन्त्रले स्वीकार गर्दैैन । लोकतान्त्रिक गणतन्त्रको शाब्दिक अर्थ र यसको मान्यतामाथि नेताहरूले कुल्चेर हिँडेका छन् । बाउँठिएर हिँड्नेको चित्त बुझाउन राज्यको महत्वपूर्ण पद दिने तर जनताले भने सरकारले निर्धारण गरेको कर तिर्नका लागि खाडी मुलुकको ५० डिग्रीसेन्टिग्रेड तापक्रममा पसिना बगाएर कमाउनु परेको छ । गरिबका छोराछोरीले शिक्षा पाउनका लागि उसका अभिभावक खाडी मुलुकमा जानै पर्ने अवस्था छ । उसले कर तिर्नका लागि खाडीमा पसिना बगाउँछ तर उसले तिरेको करमा नेताहरूको ढलिमली छ ।
करको प्राकृतिक नियम भनेको उक्त कर फेरि जनतामा सेवाका रूपले फर्किनुपर्ने हुन्छ । तर, यहाँ नेताहरूले शासन सत्तालाई प्राकृतिक रूपले सञ्चालन गर्न सकेका छैनन् । अर्का नेताको चित्त बुझाउनका लागि मुलुकको महत्वपूर्ण पद भागबन्डा गरेर जनतामाथि कुठाराघात गरेका छन् । जनताले कर तिर्दै आए पनि राज्यको सेवा पाउन उसले थप रकम बिचौलियालाई बुझाउनै पर्ने अवस्था छ । ठूला नेताहरू ठुस्केपछि उनीहरूले अर्को पद पाउने संस्कार तिनै नेताहरूले चलाएका छन् । नेताहरूले जनतालाई धोका दिनेभन्दा अरु केही काम गरेको छैन । सरकारले आफू भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्दै आए पनि सरकारी कार्यालयका कर्मचारीलाई थप रकम घुसका रूपमा नदिने हो भने उसले जनताको काम गर्दैनन् । सरकारको नारा केवल सुन्नका लागि मात्र भएको छ । जनताको समस्याभन्दा पनि नेताहरू भागबन्डातिर लागेपछि लोकतन्त्रप्रति विश्वास गर्नेहरू आज निराश भएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ ०८:२९